एमालेका भगौडाहरु सर्वोच्चको फैसलापछि सगौडा भए : नेता शाही

खगेन्द्र अधिकारी   POSTED ON : जेठ ३१, २०७८ (४:३३ PM)

एमालेका भगौडाहरु सर्वोच्चको फैसलापछि सगौडा भए : नेता शाही

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीले एमालेका भगौडाहरु सर्वोच्चको फैसाल पछि सगौडा भएको बताउनु भएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेता शाहीले यस्तो बताउनु भएको हो ।

प्रदेश सभामा फ्लोर क्रस गरेर एमालेका चार जना सांसदहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनुभएको थियो । त्यसपछि एमालेले उहाँहरुलाई सांसद पदमा समेत रहन नपाउने गरी कारवाही गरेको थियो । यसरी फ्लोर क्रस गरेका मध्य प्रकाश ज्वाला बाहेक अरु तीन जना नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाही प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ ।

तर सर्वोच्च अदालतले उनीहरुलाई एमालेले गरेको कारवाही नियम संगत र वैधानिक नभएको भन्दै उहाँहरुको पद बहाली गरिदिएको छ । सर्वोच्चको फैसलापछि एमालेले कर्णाली प्रदेश सांसदीय दलले उहाँहरुलाई  सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेको छ ।  

चार जना सांसदहरु पद बहाली हुनु पूर्व एमाले संसदीय दलका नेताले बारम्बार भगौडा संज्ञा दिँदै आउनु भएको थियो तर अहिले आफ्नो दलको सदस्य संख्या धेरै भएको भन्दै संसदको संरचनामा परिवर्तन भएको बताउन थाल्नु भएको छ । आफूसँग हुँदा सब ठीक र अरुसँग हुँदा सब बेठीक भन्ने नेपाली प्रवृत्तिलाई अंकित गर्दै नेता शाहीले भन्नुभयो, लैजानुहोस् तपाईका मान्छेहरु । हामीले कसैका मान्छेलाई जबरजस्ती ल्याएर मन्त्री बनाएका होइनौ तर उहाँहरु जान मान्नु भएन भने घरमा आएका पाहुलालाई जबरजस्ती निकाल्न सकिदैन ।


Top