अत्यधिक भिडभाड बढेपछि बार अनुसार खाद्यान्न वितरण गरिने

विजय रावत   POSTED ON : असार २, २०७८ (११:०० AM)

अत्यधिक भिडभाड बढेपछि बार अनुसार खाद्यान्न वितरण गरिने

जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले  निषेधाज्ञाको अवधिमा खाद्य सामाग्रीमा भिड बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको सिफारिसमा बारअनुसार विभिन्न पालिकाहरुमा बसोवास गर्ने व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले एक सूचना जारी गर्दै असार २ गतेदेखि बुधबार, बिहीबार र शुक्रबार चन्दनाथ नगरपालिका, आइतबार पातरासी गाउँपालिका, सोमबार गुठीचौर गाउपालिका र मङ्गलबार अन्य गाउँपालिका तथा जिल्लाका वासिन्दाहरुलाई खाद्य सामाग्री वितरण गरिने जनाएको छ । बुधबार चन्दनाथ नगरपालिकाको १ देखि ३ वडा बिहीबार ४ देखि ६ वडा र शुक्रबार ७ देखि १० नम्बर वडाका बासिन्दालाई खाद्यान्न वितरण गरिने भएको हो । दैनिक बढीमा १ सय जनालाई बिहान ७ देखि १० बजेसम्मको समयमा खाद्यान्न वितरण गरिने शाखा प्रमुम तिलक सुनारले बताउनुभयो ।

 निषेधाज्ञाले प्राय आउजाउ बन्द छ । सजिलै सवारी साधान पाइँदैन । एका बिहानै हातमा डोरी समाएर लाइनमा बसेका मान्छे को अघि को पछि भन्दै चामल किन्न  तछाडमछाड गरिरहेका हुन्छन्  । विगत लामो समयदेखि देखिने यो दृष्य हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय जुम्लाको । एकातिर कोरोना माहामारी र अर्कोतिर भोकमारीले सताउँदै गएपछि संस्थानमा चामल किन्नेहरुको लर्कोले कोरोना संक्रमणको जोखिम समेत बढाएको छ ।

संस्थानमा सबैभन्दा पहिले जो पुग्यो उसैले पहिलो नम्बरमा चामल पाउने भएकाले पनि छिटो उठेर संस्थानमा पुगी लाइन बस्न प्रतिस्पर्धा नै हुन्छ जुम्लामा । संस्थानको चामल बजारको भन्दा सस्तो हुने भएकाले संस्थानै पुगेर चामल लिने बढेका छन् । निषेधाज्ञाले खासै कमाई पनि नहुने भएकाले स्थानीयवासीको आकर्षण यतिबेला संस्थानको चामलप्रति छ । २० प्रतिशत छुटमा चामल विक्रि गर्न थालिएपछि भिड बढेको हो । उक्त भिडभाडले कोरोना संक्रमणको जोखिम बढेपछि असार २ गतेदेखि गालु हुने गरी नयाँ तालिकाको आधारमा चामल बिक्रिवितरण खुला गरिएको छ ।

Top