कर्णालीले राउटेका लागि एकीकृत नीति ल्याउँदै

खगेन्द्र अधिकारी   POSTED ON : असार ७, २०७८ (१:०३ PM)

कर्णालीले राउटेका लागि एकीकृत नीति ल्याउँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताउनु भयो । ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो,’ सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले भन्नुभयोे, ‘साउनदेखि नीति अनुसार काम हुन्छ ।’

उहाँले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु नीतिभित्र समेटिन्छन्,’ उहाँले भन्नुभयो, ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिक विकास मन्त्रालयले काम गर्नेछ ।’ पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको उहाँले बताउनु भयो ।

मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै  बालबालिकामा रहेको कुपोषण न्यूनिकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताउनु भयो । ‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरुसँग छलफल पनि गरिने उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शील गरिएपछि धेरै विकृतिहरुको अन्त्य भएको बताउनु भयो । ‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ, राहत वितरणलाई एकद्वारा प्रर्णाली लागू गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यतिले पनि बस्तीमा सकारात्मक प्रभाव परेको छ ।’ युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरुका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको रिजालको भनाई थियो । गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताउनु भएको छ । उहाँले गाउँपालिकाले अस्थायी नागरिकको परिचयपत्र दिएको बताउँदै अब राउटे समुदायलाई प्रक्रिया पु¥याएर नागरिकता वितरण गरिनुपर्ने आवश्यकता औल्याउनु भयो । जंगलमा फिरन्ते जीवन विताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ ।

Views: 69

Top