निरन्तर बर्षाले भेडि गोठालालाई सास्ती

विजय रावत   POSTED ON : असार १०, २०७८ (११:०७ AM)

निरन्तर बर्षाले भेडि गोठालालाई सास्ती

जुम्ला । निरन्तररुपमा बर्षा हुदा जुम्लाका भेडि गोठालालाई सास्ती भएको छ । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका हुन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन् । एक सातादेखी निरन्तर झरिपर्दा भेडिगोठालाहरुलाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठमा बसिरहेका भेडिगोठालाहरुलाई एकातिर चट्याङको खतरा छ, अर्कोतिर भेडाबाख्रा लाई भोकै राख्नुपर्ने बाध्यता छ । पाटनमा भरपर्दा गोठहरु नै छैनन्, आफैले बनाएका गोठहरु हावाहरीले उडाउने खतरा हुन्छ ।

यहाँको तातोपानी गाउँपालिका-७ सर्मीका भेडिगोठाला कृष्ण खड्का अनुसार गत वर्ष यहि समयमा पानीको वास्ता नगरि भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए, कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरुमा व्यवस्थित भेडिगोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थे । २०७२ सालमा पनि एक करिव १० दिन सम्म निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए । घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । अहिले सबै भेडिगोठ पाटन उक्लिएका छन् । पाटनकोे ४ महिने बसाइपछि बेसिँ झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडिगोठहरु छन् । जुम्लामा भेडापालनलाई पुख्र्योली पेशाका रुपमा हेरिन्छ । मुख्य आम्दानीको स्रोत भेडाबाख्रा नै भएकोले जिल्लाका सबै बस्तिमा भेडा पालनमा पछिल्लो समयमा यहाँका स्थानीयवासि आकर्षण भएको बताउनुभयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार नेपालको सबै भन्दा बढि भेडापालन हुने हिमाली जिल्लामध्ये  जुम्ला हो । तर हाल सम्म भेडिगोठालाहरु सरकारको प्राथमिकतामा पर्न सकिरहेका छैनन् । मासुमा परनिर्भर कर्णाली प्रदेशले हाल सम्म भेडापालन व्यवसायमा कुनै सहयोग नगरेको किसानहरुको गुनासो छ ।

कृषि र पशुपालनको सम्भावनायुक्त जिल्ला जुम्लामा स्थानीय तहहरुले समेत किसानमैत्री कार्यक्रम ल्याउन सकिरहेका छैनन् । भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं पाटनमा बस्नको लागी व्यवस्थित गोठहरु छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन । अर्का भेडिगोठाला जय बहादुर रावतले दुखोसो पोखे । जुम्लामा करिव ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताउनुभयो ।  आम्दानी राम्रो छ, भेडाको सँख्या बढिरहेको छ कार्यालय प्रमुख महतले भन्नुभयो, 'चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उनको दावि छ । कर्णाली प्रदेशले यो वर्ष बाट भने गोठालो भत्ता दिने भएको छ । ५० भन्दा बढी भेडाबाखा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरु खुसी भएका छन् । अव तिनै तहका सरकारले पाठन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडिगोठालाअहरुको माग छ । भेड हिउँदमा बेंसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेक सम्म उनिहरु भेडाबाख्रा चराउन लैजान्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडि पाखि ओड्ने , ओछ्याउने गर्छन । राडिपाखिले जमिनको पानी जीउमा पर्न दिदैन । जसबाट रागन र नसा सम्बन्धि रोग लाग्न पाउदैन । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन कार्यालय प्रमुख महतले बताउनुभयो ।'

Top