१ अर्ब लागतमा धौलीगाड खानेपानी आयोजना निर्माण हुँदै

विजय रावत   POSTED ON : श्रावण ३, २०७८ (१:०१ PM)

१ अर्ब लागतमा धौलीगाड खानेपानी आयोजना निर्माण हुँदै

जुम्ला  ।  १ अर्ब लागतको  जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । सो खानेपानी आयोजना पहिलो चरणको टेन्डर १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ मा भएको संघीय खानेपानी आयोजना कार्यालयका प्रमुख  महेश न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो ,“  लामो प्रयासपछि आयोजना निर्माण गर्न विद्युतीय खरिद प्रणालीमार्फत टेन्डर भएको हो ।जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको रोहबरमा टेन्डर गरिएको संघीय खानेपानी आयोजनाका प्रमुख न्यौपाने बताउनुभयो ।“ सो खानेपानी बहुवर्षीय आयोजनाको पहिलो चरणको टेन्डर भएपछि आयोजनाले मूर्त रूप पाएको छ ।स्थानीय सरकारको रोहबरमा विद्युतीय खरिद प्रणालीबाट हिमाली क्षेत्रको सबैभन्दा ठूलो ८ हजार २९२ धारा निर्माण हुने खानेपानी आयोजनाले जनाएको छ । जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समयमा सो खानेपानी आयोजना सम्पन्न भएपछि चन्दननाथसहित ३ वटा स्थानीय तहका ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने संघीय खानेपानी आयोजनाले जनाएको छ ।

करिब १२ वर्षपछि आयोजना टेन्डर भएको छ।  जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेन्डरमा गएपछि ठूलो फाइदा भएको  जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । आयोजनाको १ प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय ३ वटै तहले १ करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट पहिलै बैंक धरौटी राखेका छन् ।यसैगरी ३ वटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । विभिन्न बाधा÷अड्चनबीच राष्ट्रिय योजना आयोगले फाइल अगाडि बढाएपछि आयोजनाको टेन्डर जारी गर्न सफल भएको छ । आयोजनाको ७० किलोमिटर पाइप लाइनबाट खानेपानी ल्याइने योजना छ ।२०६६ मा स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समितिको पहल र जनप्रतिनिधि, सरकार र सरोकारवाला निकायको सहयोगले आयोजना टेन्डरमा जान सफल भएको हो ।

आयोजना निर्माणका लागि कर्णाली सरकारका जलस्रोत तथा ऊर्जामन्त्री दीनबन्धु श्रेष्ठ, पूर्वमन्त्री नरेश भण्डारी, पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धीरेन्द्रराज गिरी, पूर्वखानेपानीमन्त्री प्रेमहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री, स्थानीय प्रशासनलगायतले पहल गरेको समन्वय उपप्रमुख बुढाले बताउनुभयो । आयोजना करिब ४ हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने खानेपानी आयोजनाले जनाएको छ । 


Top