जुम्लामा बढ्दो बालविवाह

विजय रावत   POSTED ON : श्रावण ४, २०७८ (१२:३८ PM)

जुम्लामा बढ्दो बालविवाह

जुम्ला । जुम्लामा उमेर नपुग्दै बालविवाह हुने गरेको छ । ७० प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिया दर्जनौँ संघ–संस्थाले सचेतना कार्यक्रम गर्दै आएपनि प्रतिफल निराशाजनक छ ।  

यहाँका केही स्थानीय तहले बालविवाह रोकथाम अभियान चलाउँदा ठूलो रकम खर्चेपनि उपलब्धि शुन्य  पाइन्छ । सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रम पनि बारम्बार भइरहेका छन् । तर, नजिता आशलाग्दो छैन । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसक्दा बालविवाह न्यूनीकरण हुन नसकेको हो । प्लान नेपालको आर्थिक सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले जिल्लाका तीन स्थानीय तहमा  बालविवाह न्यूनीकरण गर्नका लागि  कार्यक्रम गरिरहेको छ । तर, ग्रामीण क्षेत्रमा बाल विवाह घटेको छैन । 

२०६८ को जनगणनाअनुसार जुम्लाको कुल जनसंख्या १ लाख १८ हजार छ । यसमध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । ७० प्रतिशत बालबालिकाको बाल विवाह हुने गरेको एक तथ्यांकले देखाएको हो । क्याड नेपाल जुम्लाका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढी रुकुम पश्चिममा ७१ प्रतिशत बाल विवाह हुने गरेको छ । जुम्लामा ७० प्रतिशत बालविवाह रहेको छ । हुम्लामा ५२, मुगुमा ५७, कालीकोटमा ५९, जाजरकोटमा ६५, सुर्खेतमा ६८, सल्यानमा ६९ र दैलेखमा ७० प्रतिशत बाल विवाह हुने गरेको क्याडकी परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले बताउनुभयो ।  उहाँले भन्नुभयो,“ कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला बालविवाह गर्ने तेस्रो स्थानमा परेको छ ।जुम्लामा बाल विवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेको पाइएको छ । 

यसले उनीहरूको स्वास्थ्य र शिक्षामा मुख्य असर पारेको छ । कतिपय बालिकाको गर्भावस्थामै मृत्युसमेत हुने गरेको छ । गाउँमा २० वर्ष नपुग्दै बिहे गरी बच्चा जन्माएर जन्मदर्ता गर्न आउँछन् । सरकारले बाल विवाह न्यूनीकरणका निम्ति कडा कानुन बनाएको छ । सोही कारण बच्चाको जन्म दर्ता नदिँदा सरकारी सुविधाबाट वञ्चित हुने गरेको परियोजना अधिकृत चौलागाईंले बताउनुभयो । ”

बाल विवाहकै कारण बहुविवाह र सम्बन्ध विच्छेदका घटना बढेको मानव अधिकार आयोग जुम्लाका सूचना अधिकारी किरण बरामले बताउनुभयो । मानव अधिकारको दृष्टिबाट हेर्ने हो भने उनीहरूको अवस्था विकराल छ । बाल विवाहकै कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर छ । तिनले मानव अधिकारको प्रत्याभूति नै गर्न नपाएको मानव अधिकार आयोग जुम्लाले जनाएको छ ।

गाउँमा बाल विवाह हुने गरेपनि उजुरीका रूपमा मुद्दा नआउने गरेकोa जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले बताउनुभयो  । बाल विवाह न्यूनीकरणका विषयमा जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेकाले न्यूनीकरण हुन नसकेको हो । बाल विवाह अन्त्य गर्न स्थानीय सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको यहाँका सरोकारवाला बताउँछन् ।

विपन्न बालबालिकालाई राहत

यहाँको चन्दननाथ नगरपालिका भित्रका १ सय ६९ विपन्न बालबालिकालाई राहत उपलब्ध गरिएको छ । अनाथ,असाहय र विपन्न बालबालिकालाई राहत दिएको चन्दननाथ नगरापालिकाका उपप्रमुख अप्सरा महतले बताउनुभयो । विपन्न बालबालिकालाई राहत प्रदान गर्नु निकै राम्रो काम भएको छ ।

चन्दननाथ नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा सञ्चालित बाल सरंक्षण कार्यक्रम अन्तरगत महिला तथा बालबालिका शाखाले दश वटै वडाका विपन्न, असाहय, अनाथ बालबालिकालाई राहत प्रदान गरेको छ ।

सम्बन्धित वडाको सिफारिस अनुसार प्रति बालबालिकालाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महिला तथा बालबालिका शाखा संयोजक पुष्पा थापाले बताउनुभयो । आर्थिक अवस्था कम्जोर भएका बालबालिकाले स्थानीय तहको सहयोगले राहत मिलेको महसुस गरेका छन । कोरोना महामारी र विपदबाट प्रभावित भएका बालबालिकाको उद्वार भएको नगरपालिकाले जनाएको छ ।   


Top