जुम्लामा कोभिसिल्ड खोपको पहिलो मात्रा ८ हजार बढीले लगाए

विजय रावत   POSTED ON : श्रावण ९, २०७८ (५:१४ PM)

जुम्लामा कोभिसिल्ड खोपको पहिलो मात्रा ८ हजार बढीले लगाए

जुम्ला । जुम्लामा कोभिसिल्डको पहिलो डोज आठ हजार भन्दा बढीले लगाएका छन् । पहिलो डोज लगाएका ८ हजार ९५८ जना ज्येष्ठ नागरिक दोस्रो डोज लगाउबाट वञ्चित भएका छन् । पहिलो खोप लगाउने भारतले दोस्रो डोज उपलब्ध नगराएपछि वञ्चित भएका हुन् । कोभिसिल्डको दोस्रो डोजको खोप स्वास्थ्यकर्मी, चालक, कर्मचारीसहित २ हजार ९४८ जनाले मात्रै लगाएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो । उहाँले भन्नुभयो,“१ हजार ९९१ जनाले भेरोसिल लगाएका छन् भने दोस्रो भेरोसिल खोप १ हजार ६१६ जनाले लगाएका छन् । अहिले पनि खोप कार्यक्रम चलिरहेकाले पहिलो डोज भेरोसिल लगाउने सबै नागरिकले दोस्रो डोजको खोप पाउने निश्चित भएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो ।”

यहाँका स्थानीयवासिको लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको छ । कोरोना नियन्त्रण बाहिर रहेको देखिएको छ । स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई समान्य ठान्नुले दैनिक दिन संक्रमणदर बढिरहेको यहाँका स्वास्थ्यकर्मी बताउँछन । वैशाख पहिलो सातादेखि हालसम्म जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

अहिले जिल्लामा २२५ जना सक्रिय संक्रमित छन । संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्ला बाहिरका कर्णाली अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचाररत छन् । कोभिड–१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर निषेधाज्ञा खुकुलो गर्दै लगेको छ । देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ ।

वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको हो । निषेधाज्ञा खुकुलो बनाएसंगै संक्रमण दर ह्वात्तै बढेको छ । लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालय लगायत अन्य निकायले परीक्षाको कार्यक्रम सार्वजनिक गरेपछि सरकारले लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याएको छ । 


Top