इलाका प्रशासन कार्यालय नराकोटद्वारा आठ हजारलाई नागरिकता वितरण

विजय रावत   POSTED ON : श्रावण १५, २०७८ (२:२९ PM)

इलाका प्रशासन कार्यालय नराकोटद्वारा आठ हजारलाई नागरिकता वितरण

जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा स्थापना भएको इलाका प्रशासन कार्यालय नराकोटमा नागरिकता सेवा लिनेको संख्या बढेको छ । हाल सिंजा क्षेत्रको तीनवटा स्थानीय तह र साविकको ११ वटा गाविसका स्थानीयवासीको सेवा प्रवाहलाई मध्यनजर राख्दै सिंजाको नराकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयले हालसम्म आठ हजार पाँच सय ९८ जना स्थानीयवासीलाई नागरिकता बितरण गरिएको इलाका प्रशासन कार्यालय नराकोटका निमित्त कार्यालय प्रमुख मधुशंकर उपाध्यायले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ नयाँ नागरिकता पाँच हजार आठ सय ९२ जना, प्रतिलिपी नागरिकता दुई हजार एकसय ६५ र पाँचसय ४१ जनाले नावालक परिचयपत्र दिईएको छ । यसैगरी  ५३० वटा सिफारिस गरिएको ईलाका प्रशासन कार्यालयका निमित्त प्रमुख उपाध्ययाले बताउनुभयो । ”घरनजिक नागरिकता प्रदान गर्ने भएपछि कहिलेकाही त कार्यालय समय पछि पनि काम हुने गरेको इलाका प्रशासन कार्यालय नराकोटले जनाएको छ । 

प्रजिअको अनुगमन : 

सो इलाका प्रशासन कार्यालयको सेवा प्रवाहका बिषयमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले अनुगमन समेत गर्नुभएको छ । इलाका प्रशासन कार्यालय नराकोटको व्यवस्थापनका बिषयमा अनुगमन गरिएको प्रजिअ प्रसाईले बताउनुभयो । ईलाका प्रहरी कार्यालय नराकोटको समेत अनुगमन गरिएको प्रजिअ प्रसाईले भन्नुभयो,“ईलाका प्रशासन कार्यालयको अवस्था र  सेवा प्रवाहलाई सेवामुलक र सहच तरिकाले सेवाप्रदान गर्न यहाँका कार्यरत कर्मचारीहरु लागि पर्ने बताउनुभयो ।”इलाका प्रशासन कार्यालयमा नयाँ भवन निर्माण कार्यभईरहेको र लगत्तै ईन्टरनेटबाट नागरिकता प्रदान गर्ने तयारी भईरहेको प्रजिअ प्रसाईले बताउनुभयो ।  

सिंजा क्षेत्रमा नागरिकता वितरण कार्य भएपछि यहाँका नागरिकहरुलाई सहज भएको स्थानीयवासी हरिकला बुढाले बताउनुभयो । 

इलाका कार्यालयबाट नागरिकता बनाएर घरफर्किनेमा निकै सहयोग भएको यहाँका स्थानीयवासी बताउँछन् । घर नजिक ईलाका प्रशासन कार्यालय भएपछि नागरिकता लिन सजिलो भएको सिंजा गाउँपालिकाका उपाध्यक्ष जन्मकन्या खत्रीले बताउनुभयो । सो कार्यालयमा दरवन्दी अनुसार पदपुर्ति नहुदाँ काम गर्न कर्मचारीलाई समस्या भईरहेको इलाका प्रशासन कार्यालय नराकोटले जनाएको छ । 

एक दिनको समय लगाएर सदरमुकाममा आई नागरिकता बनाउन कठिन अवस्था हुन्थ्यो तर अहिले सजिलो भएको स्थानीयवासि बताउँछन् । यहाँका स्थानीयवासिले कृषि विकास वैंकको शाखा पनि सिंजामा हुनुपर्ने माग गरेका छन् । सो इलाका प्रशासन कार्यालयमा ईन्टरनेट व्यवस्था नहुदा समस्या भएको छ । यस्तै प्रशासनको गाडि नहुदा अनुगमन तथा आवत जावतमा समस्या भईरहेको छ । 

दरवन्दीमा  अधिकृत भएपनि अधिकृत कोहीपनि आउन नमानेका कारण समस्या भएको र एक जना नायव सुब्बा पनि आउन बाँकी रहेको इलाका प्रशासन कार्यालय नराकोटले जनाएको छ । अधिकृत सहित ७ जना दरवन्दी भएको इलाकामा अहिले नायव सुब्बा मधुशंकर उपाध्यायलाई कामु जिम्मेवारीसहित नागरिकता वितरणको जिम्मा दिईएको र अन्य एक जना सलेपा, १ जना कम्यूटर अपरेटर र २ जना कार्यालय सहयोगी ईलाका कार्यालयमा कार्यरत रहका छन् । 


Top