कुलो निर्माणसँगै ५० रोपनी जमिन सिँचाइको पहुँचमा

विजय रावत   POSTED ON : भदौ १७, २०७८ (६:४६ AM)

कुलो निर्माणसँगै ५० रोपनी जमिन सिँचाइको पहुँचमा

जुम्ला । पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँपालिकाको-७ बैदारबाडामा निर्माण भएको पक्की कुलोले यहाँको ५० रोपनी जमिन सिँचाइको पहुँचमा पुगेको छ । ¬पक्की कुलो पुगेपछि यहाँका किसानले सहजैरूपमा सिँचाइ गरेर खेती गर्न थालेका छन् । कच्ची कुलो हुँदा पटक-पटक पहिरोले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो ।

सो गाउँपालिका-७ स्थित सुधारसिल कृषक समूहले १२० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ । यो सिँचाइले बैदारबाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिरोको उच्च जोखिम थियो । कुलोमा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो । पक्की कुलो बनेपछि गाउँ सुरक्षित भएको छ । पहिरोको जोखिम हटेको छ । स्थानीयवासी पनि खुसी छन् ।

खेतबारीमा रहेको पूर्ण निभर्रता कम भएर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर बनेका छन् । यो सिँचाइले गाउँमा रहेको निभर्रता कम हुने र आफ्नै जमिनमा तरकारी तथा अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताउनुभयो । समुदायमा बाढीपहिरोको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरेको छ ।

कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सोे सिँचाइ कुलो निर्माण भएको हो । सिँचाइ कुलो निर्माणका लागि पेस नेपाल जुम्लाले दुई लाख ५० हजार रुपैयाँ र कनकासुन्दरी गाउँपालिका-७ ले ४० हजार रुपैयाँ लगानी गरेको छ । कुल दुई लाख ९० हजारमा १२० मिटर कुलो निर्माण भएको सो वडाका स्थानीयवासी बताउँछन् ।

Top