गाउँमा सडक पुगेपछि स्थानीयवासी खुसी

विजय रावत   POSTED ON : भदौ २१, २०७८ (६:१९ AM)

गाउँमा सडक पुगेपछि स्थानीयवासी खुसी

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका सबै गाउँबस्तीमा सडक सञ्जाल जोडिएपछि सो गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज भएको यहाँका स्थानीय बताउँछन् । अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुईवटा बस र चारवटा जिप सञ्चालनमा छन् । सवारीसाधनको आवागमनसँगै यहाँका नागरिकले घण्टौंसम्म पैदलयात्रा गरेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हटेको छ । सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी भएको स्थानीय हमेन्द्र बुढाले बताउनुभयो । 

सदरमुकामदेखि उर्थुचौतारासम्म अटोरिक्सासमेत चल्छन् । सडक पुगेको भए पनि कच्ची सडकका कारण वर्षात्का बेला यातायात सञ्चालनमा समस्या हुने गरेको चालक कृष्ण विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पातारासीको गाउँबस्तीसम्म सडक पुगेको छ । जसले यहाँका नागरिकलाई आवतजावत गर्न निकै सहज छ । बिरामीलाई एम्बुलेन्सबाट ल्याउनमा सहज भएको छ ।  तर, सडक निकै साँघुरो छ । बाइकलाई साइड दिन पनि पुग्दैन ।’ जोखिम मोलेर यातायात सेवा दिइरहेको चालक विष्टले बताउनुभयो ।

चन्दननाथ नगरपालिकाको रानारावत र उर्थुगाउँ नजिकै सडक निकै जोखिमपूर्ण छ । पहिले बाटो राम्रो थियो, यात्रा सहज थियो । अहिले स्तरोन्नतिका लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बन्यो । बनाएका संरचना ध्वस्त भइसके । तत्काल सडक स्तरोन्नति गरेर पूर्णरूपमा यातायात सेवा सञ्चालनमा ल्याउन जरुरी छ अनिमात्र यहाँको यातायात सेवा सहज हुनेछ । गाडी सञ्चालनका लागि रुट प्रमिट पनि छैन । गाउँमा सडक पुग्दा उत्साहित भएको सो गाउँपालिकाका स्थानीयवासी कालीबहादुर महताराले आफू निकै खुसी भएको बताउनुभयो । 

सो सडकबाट राराताल जाने पर्यटकलाई समेत असर परिरहेको छ । गाउँमा सडक पुग्नुमात्र ठुलो कुरो होइन । सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता रहेको यहाँका स्थानीयवासी बताउँछन् । सडक गाउँमै पुगेपछि गाउँको तरकारी सदरमुकाम ल्याउज सहज भएको यहाँका किसान बताउँछन् । सो गाउँपालिकामा जम्मा १६ वटा गाउँ छन् । सबै गाउँमा गाडी पुगेको छ । एम्बुलेन्स सबै गाउँमा पुग्ने गरेको सो गााउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । सडक स्तरवृद्धि गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । 

स्थानीय सरकार आइसकेपछि गाउँ–गाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि भएको यहाँका स्थानीयवासी बताउँछन् । सो सडक जुम्लाको राराताल र डोल्पा जोड्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले सो सडकका लागि बजेटमा प्राथमिकता दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।   


Top