बजारको माग बढेपछि कालीमार्सी धानको खेती बढ्दै

विजय रावत   POSTED ON : भदौ २३, २०७८ (११:५८ AM)

बजारको माग बढेपछि कालीमार्सी धानको खेती बढ्दै

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा कालीमार्सी धानको खेती हुने गरेको छ । पछिल्लो समयमा जुम्ला सडक संञ्जालको राम्रो पहुच पुगेपछि देशका विभिन्न सहरबाट जुम्ली कालीमार्सी चामलको उच्च माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा अर्गानिक पसलका संचालकहरु बताउँछन् । सो धानको खेतीपनि वितेको दुई वर्षयता करिब तीस प्रतिशतले बढेको छ ।

कृषि विकास कार्यालय जुम्लाको तथ्यंक अनुसार जिल्लामा अहिले कूल २९ सय हेक्टरमा धान खेती हुने गरेकामा मार्सीधानको क्षेत्रफल मात्र १ हजार ६ सय हेक्टर छ । १३ सय हेक्टर क्षेत्रफलमा उन्नत जातको धान लगाइन्छ । पहिले मार्सीधानमा रोगकिराको समस्या थियो । अहिले रोगकिरा छैन । यहाँको धान अनुसारको मौसम अनुकुल पनि रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“ मार्सी चामलको उच्च मागको बजारीकरण छ । माग बढ्दो छ । जसले यहाँका किसानमा मार्सी धानको खेतीमा आकर्षण भएका छन् ।  कालीमार्सी धानको मूल्य प्रतिकेजी १ सय २ रुपैयाँ तोकिएको छ । चामलको मूल्य जुम्लामै एक सय ५० रुपैयाँ प्रतिकेजी मा विक्रि भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रुपमा स्थापित गर्नका लागि खरिद गर्न थालेपछि ह्वात्तै कालीमार्सी धानको खेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताउनुभयो । ” 

व्यापार कम्पनीले कालीमार्सी धानलाई खाद्य ब्राण्डका रुपमा स्थापित गरेपछि  देशभित्र र बाहिर यो धान र चामलको माग बढ्न थालेको छ । यो याममा यहाँका किसान कालीमार्सी धानको संरक्षणमा जुट्न थालेको किसान बताउँछन् । अहिले जिल्लामा उन्नत जातको धानभन्दा कालीमार्सी धानको क्षेत्रफल बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  गतवर्ष कालीमार्सी चामल विदेशी क्यानडा बजारमा १५ टन निर्यात भएको थियो । नेपालको सबैभन्दा महंगो, गुणस्तरीय, अडिलो, पोटिलो र पोषिलो चामलको रुपमा मार्सीलाई लिने गरिन्छ । सो धानको क्षेत्रफल विस्तारका लागि कृषि विकास कार्यालय जुम्लाले स्थानीय तहसँग समन्वय गरेर बिजबृद्धि कार्यक्रम लागू गरेको छ । यहाँको तातोपानी र हिमा गाउँपालिकासंँ सहकार्य गरेर तातोपानीको लाछुजीउलो र हिमाको कोइरेली जीउलोमा मार्सीधान खेती गरिएको छ । स्थानीय तहको ३० र कृषि कार्यालयको ७० प्रतिशत लागत सहकार्य रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

यहाँको पातारासी गाउँपालिकाले कालीमार्सी धान बचाउनको लागि डिपिआर नै बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढ्थापाले बताउनुभयो । पछिल्लो समयमा कालीमार्सी धानमा लागेको रोगकिराको प्रकोप नियन्त्रण गर्नको लागि किसानले तदारुकता देखाउन थालेका छन । किसानह कृषि विज्ञ संग परामर्श गर्ने, धानखेतिमा लागेको रोगको बारेमा जानकारी हासिल गर्ने र घरेलु उपचार विधि समेत अपनाउन थालेको सिँजा गाउँपालिका स्थानीयवासि हिम्मतबहादुर शाहले बताउनुभयो ।

 दशैको अवसर पारेर रारा आउने आन्तरिक पर्यटनको रोचाईमा मार्सी चालम रहेको रारालिही अर्गानिक पसलका संचालन अर्जन बुढाले बताउनुभयो । सो धान यहाँका किसान कात्र्तिक महिनाको पहिलो साताबाट घरमा भित्र्याउने गरेका छन् । 


Top