दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

नवीनकुमार शर्मा   POSTED ON : भदौ २४, २०७८ (६:३० AM)

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

दैलेख । दैलेखमा लामो समयदेखि खेर गइरहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ  । नेपाल सरकार र चिनियाँ सरकारबीच पेट्रोलियम पदार्थको उत्खनन्का लागि सन् २०१७ मा सम्झौता भएको थियो । सन् २०२२ सम्म सम्झौता समयावधि तोकिएको उक्त सम्झौताबमोजिम विसं २०७६ असोज महिनाबाट अन्वेषणको काम सुरु भएको दैलेख जिल्लाका श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार र कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ । 

चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खनन्का लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो, चिनियाँ टोली आउनासाथ अन्य काम अघि बढ्छ  ।’

चीन सरकारले कोरोनाको महामारी अझै पनि कम नभएको भनेर आफ्ना नागरिकहरूलाई देशबाहिर जान अनुमति नदिएका कारण विज्ञ टोली नेपाल आउन सकेको छैन । चारवटा एरियामा गरेको सर्भेको नतिजा राम्रो भएको पत्रमा उल्लेख गरिएको छ । विभागका अनुसार भनेको समयमा प्राविधिक टोली फर्केको भए आवश्यक उपकरण दुई महिनाअघि नै नेपाल आउने थियो । तोकिएको समयमा विज्ञ टोली आउन सकेको र काम सञ्चालन भएको भए विस्तृत सर्भे र ड्रिलिङको काम पनि सकिने खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागले सर्भेको रिपोर्टको नतिजाका आधारमा चार हजार मिटर तल ड्रिलिङको काम गर्ने जनाएको छ ।

भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका बेला नेपाल सरकारले चीनसँगको छलफलमा दैलेख जिल्लामा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिक सर्भे कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दुई अर्ब चालिस हजार आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

Top