मृतक परिवारलाई सरकारबाट पाँच लाख राहत

विजय रावत   POSTED ON : भदौ २८, २०७८ (२:२९ PM)

मृतक परिवारलाई सरकारबाट पाँच लाख राहत

जुम्ला ।  जुम्लाको गुठीचौर गाउँपालिका – ३ निवासी मृतक १३ बर्षिय पदम बुढाको परिवारलाई नेपाल सरकारले पाँच लाखको राहात प्रदान गरेको छ । मोवाईल चोरीको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा सोधपुग्छका लागी गत माघ १८ गते प्रहरीमा आएका थियो । सोधपुग्छपछि बुढा घर गएपछि विरामी भई अस्पतालमा निधन भएको थियो ।

 सो निधन पश्चात बुढाको परिवारलाई राहत स्वरुप नेपाल सरकारले पठाएको रकम जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताउनुभयो । प्रजिअ सहित सुरक्षा निकाय, पुर्व संविधानसभा सदस्य ललितजंग शाही, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, वडाध्यक्ष प्रेम बुढा सहितका सरोकारवाला निकायहरुले परिवारलाई संयूक्त चेक हस्तान्तरण गर्नुभयो । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार २०७८ साल माघ १८ गते मोवाईल चोरीको विषयमा बुढा जिल्ला प्रहरी कार्यालयमा आएका र घर गएपछि केही दिन पछि अस्पतालमा विरामी भई आएपछि २०७८ साल फागुन ५ गते बुढाको मृत्यू भएको थियो ।

आफन्तले प्रहरीको कुटाईबाट घाईते भएपछि अस्पताल ल्याईएको र मृत्यू भएको आफन्तले  दावी गरेका छन् । सोे बिषयमा परिवार तथा स्थानीयवासि आन्दोलित भएपछि एक छानविन समिति समेत बनेको  थियो । सो समितिको प्रतिवेदनमा राहात उपलब्ध गराईनु पर्ने अनुसार नेपाल सरकार गृह मन्त्रालयले रु पाँच लाख जिल्ला प्रशासन कार्यालयको खातामा रकम पठाई दिएको थियो । राहात रकमका लागि संविधानसभा सदस्य ललितजंग शाही, आफन्त दानबहादुर बुढा सहितको टिम आन्तरिक मामिला तथा कानून मन्त्रालय सुर्खेत र गृह मन्त्रालय काठमाडौंमा समेत पुगेको थियो ।

 संविधानसभा सदस्य ललितजंग शाहीले सवैको जोडमा परिवारलाई मलम लगाउन सरकारले गरेको सहयोग सह्रानीय भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र वडाध्यक्ष प्रेम बुढाले सरकारले राहात दिएको रकमले पिडित परिवारमा केही राहत भएको अध्यक्ष भण्डारीले बताउनुभयो । आफन्त दानबहादुर बुढाले परिवारलाई राहात दिने नेपाल सरकार र सवै सरोकारवाला निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राहत रकम बुझ्न मृतक वालक पदम बुढाका बुवा पृथ्वी बुढा र आमा गोरिकला बुढा जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । मृतकका पिता पृथ्वी बुढाले राहात रकमका लागि सरकारलाई धन्यवाद दिँदै न्याय पाउनेमा विश्वस्त रहेको बताउनुभयो । 


Top