जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

विजय रावत   POSTED ON : आश्विन ३, २०७८ (१२:५३ PM)

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

जुम्ला  । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ  तथा सहुलियत छुट  मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले दसौं चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि कार्तिक २४ गतेसम्म सो पसल  सञ्चालनमा ल्याएको हो । 

सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताउनुभयो । उहाँले भन्नुभयो ,“अरुवा मोटा चामल प्रतिकेजी ४७ रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट लिएर ४२ रुपैयाँमा बिक्री हुने गरेको छ । अरुवा सोना मन्सुली चामल प्रतिकेजी ५१ रुपैयाँ ३० पैसा, मासको दाल प्रतिकेजी १७० रुपैयाँ, मसुरोको दाल प्रतिकेजी १४० र अरहरको दाल प्रतिकेजी १८३ रुपैयाँमा प्रतिकेजी ५÷५ रुपैयाँ सहुलियत छुट मूल्यमा बिक्री गरेका छौँ । खाद्य व्यवस्था कम्पनी जुम्लाले १ असोजदेखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न १ हजार क्विन्टल कोटा पाएको छ । सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताउनुभयो ।“

सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासिको भिडभाड हुने भएकोले विक्री वितरण गर्न  शाखाले तालिका सार्वजनिक गरेको छ । आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिंजाका लागि तालिका तोकिएको छ । बिहान १० देखि ३ बजेसम्म, प्रतिव्यक्ति दुई बोरा (६० केजी) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।  पसल आगामी २४ कात्तिकसम्म खोलिने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै यी पसल सञ्चालन गरिएको हो ।

उपभोक्ताले नुन प्रतिकिला १८, चिनी प्रतिकिलो ७९ मा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिन ३ करोड रुपैयाँ छुट्याएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिन ३ करोड २५ लाख रुपैयाँ छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयले खाद्य कम्पनीका लागि १ करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ । कम्पनीले ल्याएको सुपथ मूल्य पसलबाट बजारमा रहेको कृत्रिम अभावलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने उपभोक्ताकर्मीहरु बताउँछन् 

Top