जनगणनाका लागि सुपरिवेक्षक परिचालन

विजय रावत   POSTED ON : आश्विन ७, २०७८ (१२:५६ PM)

जनगणनाका लागि सुपरिवेक्षक परिचालन

जुम्ला । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्यांक कार्यालय जुम्लाका जनगणना अधिकृत शंकरदत्त भट्टले बताउनुभयो । पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौ । उहाँले भन्नुभयो,“सुपरिवेक्षकहरुले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको तथ्यांक संकलन गर्नेछन् । गणकको कार्यविभाजन र मूल गणनाका लागि यो महत्वपूर्ण छ । समयभित्रै सुपरिवेक्षकले यो काम सम्पन्न गर्नुहुन्छ । जिल्लामा गणक भने छनौट भइसकेका छैनन् । पहिलो चरणको कार्य सकिएपछि गणकको छनौट प्रक्रिया हुने जनगणना अधिकृत भट्टले बताउनुभयो । ”

गणक छनौट गरेर उनीहरुलाई आगामी कात्तिक १३ देखि १६ सम्म तालिम सञ्चालन गरिनेछ । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ । आगामी असोज १८ र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ ।

दोस्रो चरण मूल गणना गर्ने कार्य हो । दोस्रो चरणमा गणकहरुमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरणहरु सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरु पनि सङ्कलन गरिने तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।


Top