जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप दिदै

विजय रावत   POSTED ON : आश्विन ९, २०७८ (१०:३२ AM)

जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप दिदै

जुम्ला । जुम्लामा १८ वर्षमाथिका ४१  हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।   शनिबारदेखि  यहाँका  १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाको  कुल जसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।पहिलो खोप लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज दिइनेछ । आवश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक, युवालाई परिचालन गरिने भएको छ । खोप अभिायन जुम्लामा ९ असोजबाट सुरु हुनेछ । यहाँका आठवटै स्थानीय  तहमा दुई चरणमा खोप लगाइनेछ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर  ५ सय ४७ जना स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।’ कार्यालयका अनुसार प्रत्येक पालिकामा खोप केन्द्र राखिने भएको छ ।  १८ वर्षमाथिका सबैले खोप लगाउने भएकाले कोही नछुटून् भन्ने उद्देश्यले प्रचार–प्रसारमा जोड दिन जरुरी रहेको छ । जिल्लाभरका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइने छ । प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रूपमा तोकिने छ ।  हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  जुम्लामा २४ हजार ६ सय ४८ जनाले खोप लगाएका छन् भने १९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो मात्रा दिइसकिएको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको प्रजिअ प्रसाईले  बताउनुभयो ।

Top