चट्याङ लागेर जुम्लामा ४० भेडा मरे

विजय रावत   POSTED ON : आश्विन १२, २०७८ (६:४२ PM)

चट्याङ लागेर जुम्लामा ४० भेडा मरे

जुम्ला । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राती चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करीब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासि रामप्रकाश विकले बताउनुभयो ।

सो गाउँपालिका – ४ स्थित सामुदायिक वन अन्तर्गतको चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १० भेडा मरेको २ घाइते, मुन बहदुर भण्डारीका ४ मरेको २ घाइते, मुणि प्रसाद अधिकारीका १७ मरेको ७ घाइते र देबि प्रशाद अधिकारीको ९ मरेको ४ घाइते भएको इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले  बताउनुभयो ।  चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिव ६ लाख ५० हजारको बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

भेडा खर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै ध्वष्त भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले  बताउनुभयो । उहाँले भन्नुभयो ,“यो क्षेत्रको अधिकांश स्यानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।

भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने  गुठीचौर गाउँपालिकाका स्थानीयवासि बताउँछन् ।

 ठुलो मात्रमा क्षति भएपछि भेडा पालक किसानले  राहतको माग गरेका छन् । जुम्लामा गएको ०७० सालमा निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । 

Top