हिल्सा नाका खोल्न हुम्लीको माग

दाने बोहरा   POSTED ON : आश्विन २५, २०७८ (५:०५ AM)

हिल्सा नाका खोल्न हुम्लीको माग

हुम्ला । छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् । कोभिड-१९ को संक्रमणले विगत दुई वर्षदेखि बन्द रहेको हिल्सा नाका सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन् । 

उत्तरी हिल्सा नाका कोभिड-१९ को संक्रमणले बन्द भएपछि व्यापारीहरूको व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मिमबहादुर लामाले जानकारी दिनुभयो । 

आर्थिक संकटमा व्यवसायी

चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसायहरू आर्थिक संकटको घेराबन्दीमा परेको अध्यक्ष लामाले बताउनुभयो । स्थानीयले हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासनलाई आग्रह गरेका छन् । सीमा क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका जिल्लाका व्यापारीहरूको व्यवसाय दुई वर्षदेखि ठप्प रहेको छ । हिल्सा नाकामा खोलिएका होटेल यो समय बन्द हुँदा आम्दानी शून्य रहेको छ । हिल्सा नाका बन्द भएपछि हुम्लीहरूको व्यापार ठप्प भएको छ ।

रोजगारी गुम्यो

हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार हुम्लीको रोजगारी गुमेको छ । वैशाख महिनाको अन्तिम महिनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारीका लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर, दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा समस्यामा परेका छन् ।

वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुने गरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्यामा परेको नाम्खाका स्थानीय दावा तामाङले बताउनुभयो । करिब आठ महिना चीनमा काम गरेर हुम्ला फिर्ता हुने गरे पनि सीमा नाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउनसमेत समस्या भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’ हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैँ, तिहारजस्ता ठूला चाडपर्वहरूमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उहाँले बताउनुभयो । 

चीनबाट च्याङ्ग्रा नआउँदा स्थानीय खसीको मूल्य आकाशियो

दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिँदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमा नाका, हुम्लाको उत्तरी हिल्सा नाका आवतजावतमा पूर्णरूपमा बन्द भएपछि दशैँमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो हुने भएको छ । चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नुपर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । 

विगतका वर्षहरूमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो हुने भएको हो । हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायत नाका बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर १५ हजारदेखि ३० हजारसम्म बिक्री भइरहेको छ । 

चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्षअगाडि हुम्लामा १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा ३० हजार रुपैयाँसम्म पर्ने गरेको सिमकोट–२ का धनबहादुर भण्डारीले बताउनुभयो । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यसपटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीहरूले बताउने गरेका छन् । व्यापारीहरूले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । 

हुम्लाको सदरमुकाम सिमकोटमा खसीको मासु प्रतिकेजी एक हजार मूल्यमा बिक्री हुने गरेको छ । विगतका वर्षहरूमा दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गर्दथे । तर, कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । 


Top