दशैंसँगै वीरेन्द्रनगर झलमल्ल

खगेन्द्र अधिकारी   POSTED ON : आश्विन २५, २०७८ (११:४० AM)

दशैंसँगै वीरेन्द्रनगर झलमल्ल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर दशैंसँगै झलमल्ल भएको छ । दशैं नजिकिँदै गर्दा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरका १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याएपछि वीरेन्द्रनगर झलमल्ल बनेको हो । हुन त यसभन्दा अगाडि पनि वीरेन्द्रनगरमा बिजुली नभएको होइन । प्रदेशको राजधानी समेत भएकाले यहाँ रातीको समयमा बजारका मुख्यस्थानमा समेत अन्धकार छाउने गरेको थियो । तर हाइ–मास्ट लाइटको जडानले साँच्चिकै प्रदेशको राजधानी जस्तो देखिन थालेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले नगर उज्यालो कार्यक्रममार्फत १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याएसँगै एकातिर उज्यालो र अर्कोतिर सुरक्षा दुवै क्षेत्रमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

उज्यालो र सुरक्षालाई मध्यनजर गरेर नगर क्षेत्रका व्यस्त चोक, मानिसको बढी आवतजावत र भीडभाड हुने स्थानलाई केन्द्रित गरेर लाइटहरु जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको भनाई छ ।

नगरको सुब्बाकुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्रचोक, गणेशचोक, मंगलगढीचोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, देउती बज्यै चोक, धुलियाविट र बसपार्क लगायतका ठाउँहरूमा हाइ–मास्ट लाइट जडान गरिएको छ ।

बजारमा राखिएका सिसी क्यामेराहरूमा भिडियो कैद गर्नका लागि पनि हाइ–मास्ट लाइट उपयुक्त हुनेछन् । यस्ले नगरको सुरक्षालाई पनि थप सहज बनाउने छ । अग्लो र धेरै क्षेत्र समेटने हाइ–मास्ट लाइट सेन्सरमा आधारित छ । अँध्यारो हुँदै गए आफैं बल्ने र उज्यालो भए आफै निभ्ने उक्त लाइटले २०० मिटर वरपरको भागलाई उज्यालो दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनु भयो ।

Top