बाढी पहिरोले जुम्लामा दर्जन बढी विद्युत गृहमा क्षति, बस्ती अन्धकार

विजय रावत   POSTED ON : कार्तिक ५, २०७८ (२:३२ PM)

बाढी पहिरोले जुम्लामा दर्जन बढी विद्युत गृहमा क्षति, बस्ती अन्धकार

जुम्ला । बाढी पहिरोले जुम्लामा दर्जन बढी लघु जलविद्युत गृहमा क्षति भएपछि यहाँका गाउँबस्ती अन्धकार भएका छन् । यही कात्तिक १ गतेदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले आधा दर्जन बढि विद्युतगृहमा क्षति पुगेको छ। जिल्लाको तातोपानी गाउँपालिका र तिला गाउँपालिका क्षेत्रभित्र रहेका विद्युत गृहमा क्षति पुगेको सो गाउँपालिका स्थानीयवासि बताउँछन् ।विद्युतगृहमा क्षति पुगेपछि दुई स्थानीयतहका बासीन्दा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासि प्रेमराज शाहीले बताउनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार गाउँपालिका भित्रका ५ जलविद्युत आयोजनामा क्षति पुगेको बताउनुभयो । तातोपानी ८ को घट्टेखोला साना जलविद्युत आयोजना २१ किलोवाट,इमिल्चा साना जलविद्युत आयोजना ९ किलोवाट र तातोपानी ७ को ताम्ती साना जलविद्युत आयोजना १८ किलोवाट पुर्ण रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष न्यौपाने बताउनुभयो । आयोजनाको सबै संरचना बाढीले बगाएको छ ।  

यसैगरी तातोपानी ४ स्थित गिरीखोला साना जलविद्युत आयोजना २०० किलोवाटमा क्षति पुगेको छ। हाँकु गाउँमा रहेको साना जलविद्युतमा पनि क्षति पुगेको छ । गिरीखोला विद्युत आयोजनाबाट भर्खर मात्र विजुली निकालेर गाउँमा लगिएको थियो। यो क्षेत्रको तीन गाउँमा दुइ साता देखि विजुली बलेको थियो।  बाढीले आयोजनाको २ सय किलोवाट क्षमताको विद्युत गृहमा रहेको आउटलेट क्यानल ५७ मिटर,इन्टेक कटान गरि पुरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।सो आयोजनाले तातोपानी गाउँपालिकाको बाइराका देखि चन्दननाथ नगरपालिकाको श्रीढुस्का बस्ती सम्म विद्युत सेवा दिने तयारी भइरहेको थियो। विद्युतमा क्षेति पुगेको गाउँवस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 यसैगरी जिल्लाको तिला गाउँपालिकामा तीन जलविद्युत आयोजनामा क्षति पुगेको छ। तिला ४ मा रहेको नाङ्गाडा जलविद्युत आयोजनाको पोल र तार बगाएको छ। यहाँबाट १६ किलोवाट विद्युत निकालिएको थियो। गाउँमा बलिरहेको थियो। बाढीले क्षति पुगेपछि अहिले बन्द छ।  स्थानीय नैनबहादुर हमालले बिद्युत बगाएपछि गाउँ पुरै अन्धकार भएको बताउनुभयो ।सोही क्षेत्रमा रहेको नुवाकोट लघु जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा थियो। स्टोर रुपमा राखेको ४० वटा पोल,५ हजार मिटर सेतो र ५ हजार मिटर कालो तार,अर्थिंङको सामान र प्लेट सबै बगाएको छ। सबै सामान बगाएपछि विद्युत निर्माण अनिश्चित बनेको यहाँका स्थानीयवासि बताउँछन् । सडक संग जोडिएको क्षेत्र भएकोले राष्ट्यि प्रसारण लाइन विस्तारमा जोड दिने स्थानीय वासि बताउँछन् । अहिले बाढी प्रभावित क्षेत्रमा विजुली नहुँदा स्थानीय सञ्चार सम्पर्कबाट बञ्चित भएका छन् । 


Top