वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

दाने बोहरा   POSTED ON : कार्तिक ७, २०७८ (५:४० AM)

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

हुम्ला । गत आइतबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहान बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सीमसार क्षेत्रमा रहेका धारामा घण्टौंसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समितिका कर्मचारी लागिपरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानीको मुहान मर्मत गर्न अझै एक हप्ता बढी लाग्ने भएको छ । खानेपानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको अभावबारे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा अनुगमनसमेत गरिएको थियो । अविरल वर्षाले बगाएको खानेपानीको मुहान शुक्रबारबाट मर्मत सुरु गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । 

यसैगरी अविरल वर्षाले खानेपानी तथा सिँचाइका संरचना बाढीले बगाएपछि खार्पुनाथ गाउँपालिका-२ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका-१ का २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन् ।

सिमकोट-१ कुम्लिङ गाउँका ती घरपरिवारले प्रयोग गर्दै आएको खानेपानीको संरचना मंगलबार राति आएको बाढीपहिरोले बगाएको थियो । अहिले खोलामा बगिरहेको धमिलो पानी पिउन बाध्य भएको स्थानीयवासी अविराज हमालले बताउनुभयो ।

खानेपानी, सिँचाइसँगै करिब पाँच हल खेतीयोग्य जमिन बगाएको उहाँले जानकारी दिनुभयोे । खार्पुनाथ-२ थालीका स्थानीयवासीलाई खानेपानी लिनका लागि गाउँभन्दा टाढा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय मुनसिंगे दमाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा निर्माण भएका धारामा पानी आउँदैन, पानी आउने मुख्य मुहान नै बाढीले बगाएको छ । यहाँका ३० घरपरिवारले खानेपानी ल्याउनका लागि गाउँ नजिकका खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था छ ।’


Top