मानव बेचविखन र ओसारपसारविरुद्ध कार्ययोजना तयार

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक १०, २०७८ (५:२८ AM)

मानव बेचविखन र ओसारपसारविरुद्ध कार्ययोजना तयार

सुर्खेत । सुर्खेतमा मानव बेचबिखन तथा ओसारपसारका गतिविधिहरू बढ्न थालेपछि त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ । सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाहरूको सक्रियतामा एक महिनाको अवधिमा सो कार्ययोजना तयार गरिएको हो । 

गत असोज महिनामा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल संयोजक रहेको मानव बेचविखन तथा ओसारपसारविरुद्धको समितिले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा कार्ययोजना कार्यदल गठन गरेको थियो ।

कार्ययोजनाअनुसार यो कात्तिक महिनाभित्र जिल्लाका सबै नौवटै पालिकामा मानव बेचविखन तथा ओसारपसारविरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ । आगामी मंसिर महिनाभित्र कर्णाली प्रदेश गर्ने नाका सुर्खेतको बबईमा सोधपुछ तथा अभिलेखीकरण कक्षा स्थापना गर्ने तथा बालबालिका खोजतलास समन्वय केन्द्र गठन गरिनेछ । 

वीरेन्द्रनगरको सिटी बसपार्क तथा भेरीगंगाको छिन्चु बस बिसौनीमा डिजिटल नोटिस बोर्ड राख्ने, जिल्लामा रहेका बालगृहरूको अनुगमन गर्ने, रोजगारीको नाममा विदेशिने क्रमलाई कमी ल्याउने, मानव बेचविखन तथा ओसारपसारसम्बन्धी घटेकाहरू घटनाहरूलाई तथ्यांकीकरण गर्ने तथा यसविरुद्ध बढी प्रचारप्रसार तथा सचेतना कार्यक्रमहरू गर्ने योजना पनि सो कार्ययोजनामा उल्लेख छ । यो कार्ययोजना जोखिमयुक्त पालिकाहरूका लागि प्रभावकारी हुने कार्ययोजना निर्माणमा संलग्न सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । 


Top