टिकट नपाउँदा विमानस्थलबाटै फर्किए बिरामी

विजय रावत   POSTED ON : कार्तिक ११, २०७८ (५:३८ AM)

टिकट नपाउँदा विमानस्थलबाटै फर्किए बिरामी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले रेफर गरेको कागज देखाउँदै जुम्लाको गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे जुम्ला विमानस्थल पुग्नुभयो । उहाँको तीन महिनाको छोरा रिवान पाण्डे श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत हुनुहुथ्यो । तर, अस्पतालले उहाँको नर्मल श्वासप्रश्वासको दर घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उहाँ विमानस्थल पुग्नुभयो । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गर्नुभयो । तर, उहाँले टिकट पाउनुभएन । 

‘विमानस्थल जानुअघि मैले टिकटका लागि धेरै ठाउँमा पटक–पटक फोन गरेँ, तर कहीँबाट सुनुवाइ भएन, पछि छोरालाई लिएर घर फर्किएँ’, उहाँले भन्नुभयो । उहाँ अगाडि भन्नुहुन्छ, ‘समयमै रेफर गरिएको अस्पतालमा पु¥याउन सकेको भए छोरा निको हुने आशा थियो । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भएँ ।’

दुई दिन अघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । उहाँले भन्नुभयो, ‘छोराको अवस्था जटिल हँुदै टिकटको लागि पहल गरेको थिएँ । तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किएँ ।’ एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिन अघिदेखि सिट प्याक भइसकेको भन्दै फर्काए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उहाँले भन्नुभयो, ‘हामी अप्ठ्यारो गाह्रो पर्दा हारगुहार माग्छौँ । तर, टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र हो भन्ने जस्तो आभाष हुन्छ ।’

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने भन्दै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बिरामीले टिकट नपाउनु दुःखद भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ । अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ । उहाँले दुःखी बिरामीको लागि कर्णालीको हवाईसेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताउनुभयो । विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि ई–टिकटको व्यवस्था नभएसम्म नरोकिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इं पनि हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । अक्सिजन सिलिण्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो । जुम्लामा तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।


Top