ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीन विद्यार्थीलाई समस्या

विजय रावत   POSTED ON : कार्तिक १३, २०७८ (५:१९ AM)

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीन विद्यार्थीलाई समस्या

जुम्ला । दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक हालसम्म नपुग्दा समस्या भएको छ । जुम्लाको सिञ्जा गाउँपालिकामा अवस्थित श्री भैरव माध्यमिक विद्यालयमा अवस्थित ११ र १२ का विद्यार्थीहरू को ब्रेल पाठ्यपुस्तक नआइपुग्दा समस्या भएको हो । कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले बताउनुभयो । अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को ब्रेल पाठ्यपुस्तक अभावले पढाइसमेत प्रभावित भएको सो विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कक्षा ११ र १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको खबर आएको छ । दृष्टिविहीनहरूको अध्ययनका लागि एक मात्र बढी साहारा हुने ब्रेल पाठ्यपुस्तक समयमै नआउने कार्य यो पटक फेरि दोहोरिएको छ । यस वर्ष कोरोनाका कारण समयमै अन्य विद्यालयमा समेत पाठ्यपुस्तक जान ढिलाइ भएपछि जिल्ला विपत व्यवस्थापन समितिले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने निर्णयसमेत गरेको थियो ।

सामान्यतया गत वर्ष छापिएको कक्षा ११ को पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । गत वर्ष पनि साथीहरूको फोन र समन्वयको भरमा पढाइ हुने गरेको शिक्षक बुढाले बताउनुभयो । लामो समयदेखि नेपाल नेत्रहीन संघ र नेपाल दृष्टि कल्याण संघले पाठ्यपुस्तक छापिरहेका छन् । तर यो वर्ष ११ र १२ को पाठ्यपुस्तक छाप्ने कार्यक्रम नरहेको नेत्रहीन संघका पूर्व-अध्यक्ष नरबहादुर लिम्बूले बताउनुभयो । 

यस वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले राखेको छैन । पाठ्यपुस्तक नै नछापिएकाले देशभरका ११ र १२ कक्षाका विद्यार्थीहरू अन्योलमा परेका छन् । नेपाल सरकारले कक्षा १० सम्म मात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको नेत्रहीन संघका पूर्व-अध्यक्ष लिम्बूले बताउनुभयो । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दवाडीका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना नगरेको जानकारी दिनुभयो । 

Top