जनहितकारी साकोसको प्रविधिमय साधारण सभा

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक १३, २०७८ (४:५२ PM)

जनहितकारी साकोसको प्रविधिमय साधारण सभा

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २३औं वार्षिक साधारणसभा प्रविधिको प्रयोग गरेर शनिबार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी केही कम भए पनि पूर्ण नियन्त्रण भइ नसकेकाले सहकारीले एफएम रेडियो, जुम र फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

कोरोना भाइरसका कारण सबै सदस्यहरु एकै ठाउँमा भेला भएर साधारण सभा सम्पन्न गर्न असहज भएपछि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सहकारीले प्रविधिको उच्चतम प्रयोग गर्दै साधारणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष हरिहरनाथ योगीले जानकारी दिनुभयो ।

साधारणसभामा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले कोरोना महामारीको प्रभाव र राहतको व्यवस्था, प्रविधिमैत्री सेवाको विस्तारमा प्राथमिकता, सदस्य सेवा सहयोग र सामाजिक उत्तरदायित्व, सम्पत्ति शुद्धिकरण निवारण तथा श्रम रोजगार ऐन निर्देशनको पालना लगायतका विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको थियो । यसैगरी अध्यक्ष योगीले प्रतिवेदनमा महामारी र विपत व्यवस्थापन आपतकालिन सेवा सञ्चालन र संस्था एकीकरण र प्रभावकारी व्यवस्थापनका बारेमा कार्यविधि निर्माण गर्दै थप प्रभावकारीताका साथ अगाडि बढाउने जानकारी दिनु थियो ।

सहकारीका कोषाध्यक्ष नवराज कंडेलले आव २०७७÷०७८ को वास्तविक आय–व्यय विवरण तथा आव २०७८÷०७९ को प्रस्तावित आय–व्यय विवरण सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष कंडेलले आव २०७७÷०७८ मा शेयर पूजीतर्फ ९३ लाख १९ हजार रुपैयाँ वृद्धि भएर ५ करोड ८४ लाख ७७ हजार २ सय कायम भएको जानकारी दिनुभयो । यसैगरी जगेडाकोषतर्फ ३ करोड ७२ लाख ७० हजार ३ सय ७६ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ६३ करोड ६० लाख २२ हजार १७१ रुपैयाँ भएको जानकारी दिनुभयो ।

यसैगरी संस्थाले ५० करोड ७९ लाख २१ हजार ६ सय ३५ रुपैयाँ ६४ पैसा ऋण लगानी गरेको छ भने ५२ करोड १० लाख ५२ हजार ७२ रुपैयाँ २० पैसा कुल बचत गरेको कोषाध्यक्ष कंडेलले प्रतिवेदनमा जनाउनु भएको छ ।

यसैगरी कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले सहकारीले देशको ठूलो भूगोल समेट्नुका साथै संख्याको हिसाबले पनि सहकारीको संख्या बढिरहेकाले सहकारीले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर जनहितकारीले प्रविधिको उच्चतम प्रयोग गर्दै साधारणसभा सम्पन्न गरेकोमा कंडेलले सहकारीलाई धन्यवाद दिनुभयो ।

यसैगरी प्रविधिको उपयोग गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले जनहितकारीले जनताको स्वास्थ्यलाई ख्याल गर्दै प्रविधिको प्रयोग गरेर साधारण सभा गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै जनहितकारीले जनपक्षिय कार्यक्रम गरिरहेकोमा आगामी दिनमा पनि जनताको पक्षमा काम गरिरहन शुभेच्छा प्रकट गर्नुभयो ।  

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका कार्यपालिकाका सदस्य तथा वडा नं. ४ का अध्यक्ष नीलकण्ठ खनाल, कर्णाली प्रदेश सहकारी विभागका रजिष्ट्रार खेमराज शर्मा, सिए छविलाल आचार्य लगायतले सहकारीका गतिविधिहरुले सहकारीको भविष्य उज्जवल रहेको बताएका थिए ।

 


Top