संसदीय टोलीद्वारा करिडोरको अनुगमन, हुम्लाका सात दलले बुझाए माग पत्र

दाने बोहरा   POSTED ON : कार्तिक १४, २०७८ (४:५८ AM)

संसदीय टोलीद्वारा करिडोरको अनुगमन, हुम्लाका सात दलले बुझाए माग पत्र

हुम्ला । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसद्को विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनीतिक दलले मागपत्र बुझाएका छन् । निमार्णाधीन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलिसल्ला खण्डको हेलिकप्टरमार्फत बिहीबार अनुगमन गरेको हो ।

समितिकी सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा आएको टोलीलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट मागपत्रसमेत बुझाएको हो । कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको भए पनि सदरमुकाम सिमकोट सडक सञ्जालले छुन अझै दुई वर्ष लाग्न सकिने हुम्लाका नागरिकहरूको आँकलन रहेको छ । 

अनुगमन टोलीमा समितिका सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा सदस्यहरू रंगमती शाही, यज्ञबहादुर सुनुवारलगायत हुनुहुथ्यो । उहाँहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमन गर्नुभएको हो । अनुगमन समितिमा सांसद, सचिवालयका कर्मचारी र नेपाली सेनाका उच्च अधिकारी थिए । 

सडक निर्माण सुस्त भएको गुनासो आएपछि संसदीय समितिले चासो देखाएको र कामलाई तीव्रता दिन उक्त टोली हुम्ला पुगेर फिर्ता भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो । 

हुम्लाको हिल्सा, लिमी, लाप्चा क्षेत्रको सडक निर्माणको अवस्था र बाँदरठेलामा सलिसल्लासम्म सडकको अवस्था उक्त टोलीले बुझेको छ । चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुल र हुम्ला खण्ड करिडोरमा पर्ने साना ठूला १८ वटा पक्की पुल निर्माण प्रगतिबारे पनि जानकारी लिएको छ ।

जिल्लाको निर्माण भइरहेको सडकको निर्माण कार्यको अवस्था अनुगमन गर्न टोली हुम्ला पुगेर फिर्ता भएको छ । करिडोरको हुम्ला खण्डमा नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले काम गर्दै आएको हिल्सा सडक आयोजनाका प्रमुख विसुन्दास लामाले बताउनुभयो । प्रमुख लामाले भन्नुभयो, ‘अधिकांश ट््याकमा ठूला-ठूला चट्टान भएकाले निर्माण कार्यमा ढिलाइ हुनुका साथै, ब्लाष्टिङ मेटेरियल ल्याउने प्रक्रियामा धेरै समय लाग्ने, उत्तरी नाका हिल्सा कोभिड–१९ को कारण बन्द रहेकोले निर्माण सामग्री ल्याउन कठिनाइ भएको छ ।’

उत्तरतर्फ मंसिरदेखि चैतसम्म हिमपात हुने भएका कारण निर्माण कार्य बन्द रहने भएको बताउनुभयो । जलवायु परिवर्तनसँगै बेमौसमी वर्षा हिमपातले सडक अवरुद्ध भएको सिमकोट बजार क्षेत्रमा पाँच किलोमिटर एलाइन्टमेण्ट विवाद र क्षतिपूर्ति मुआब्जा माग भई निर्माणकार्य अवरुद्ध भएको समस्या टोलीलाई दर्शाउनुभएको थियो ।

जिल्लाको विभिन्न भौगोलिक विकटताको समस्यालाई समेट्दै हुम्लाका सम्पूर्ण राजनीतिक दलको तर्फबाट मागपत्र पेश गरेका छन् । उक्त मागपत्र पेश गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले जिल्लामा भएका विभिन्न समस्यालाई तत्काल समाधान गर्न अनुरोध गर्नुभएको थियो । निर्माण व्यवसायीलाई छिटो काम गर्ने वातावरण सृजना गरी निर्देशन गर्नुपर्ने, कर्णाली करिडोर यही आर्थिक वर्षभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, निर्माण हुन बाँकी पुलहरूको ठेक्का हुनुपर्ने, जस्ता समस्याको समाधान गर्न उक्त मागपत्रमा उल्लेख गरिएको छ ।

हुम्लामा भर्खरै मात्रै आएका खाद्यान्न, विद्युत्, स्वास्थ्य, हवाई, र बाढी-पहिरोबाट पीडित भएकाहरूलाई तत्काल सहयोगका लागिसमेत अनुरोध गरिएको थियो । सात दलको मागअनुसार आफूले केन्द्रमा पहल गर्ने विकास बोर्डकी सभापति खड्काले आश्वासन दिनुभएको छ । 


Top