बाढी पहिरो प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका जलस्रोत मन्त्री श्रेष्ठ

विजय रावत   POSTED ON : कार्तिक १४, २०७८ (३:२८ PM)

बाढी पहिरो प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका जलस्रोत मन्त्री श्रेष्ठ

जुम्ला ।  यहीँ कार्तिक १ गते परेको अविरल बर्षाले जुम्ला पारेको क्षति प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ पुगेका छन । बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढीले पुर्याएको क्षति अवलोकन गर्न निस्किएका हुन ।

 जिल्लाको तातोपानी गाउँपालिका–४ तिला गाउँपालिका–४स्थित बाढीले खेतियोग्य जमिन,विद्युत,सिचाइँ र विद्यालयमा पुयाएको क्षतिको बारेमा प्रत्यक्ष रुपमा बुझेका हुन ।अवलोकनमा निस्किएका मन्त्री श्रेष्ठलाई बाढी प्रभावित नागरिकले छिट्टै राहतका प्याकेज ल्याउन आग्रह गरेको छु । उनीहरुले बाढीले बगाएको सिचाइँकुलो तत्काल मर्मत गर्नुपर्ने,विद्युतगृहबाट विद्युत आपुर्ति गर्नको लागि आवश्यक सामाग्रीका लागि सहयोग गर्नुपर्ने र बाढीले बगर बनेको विद्यालय तत्काल मर्मत गरेर नियमित पठनपाठन गर्ने वातावरण मिलाइदिनु पर्ने माग गरेका थिए ।

 बाढीले क्षति पुर्याएको क्षेत्रमा मन्त्री आफै पुगेर अवलोकन गरेकोमा स्थानीय उत्साहित छन । तातोपानी गाउँपालिका –४ हाँकुका स्थानीयवासि पुर्णप्रसाद न्यौपानेले मन्त्री आफै प्रभावित क्षेत्रमा पुगेकोले जनजीवन सहज बनाउन पहल हुने विश्वास व्यक्त गरे ।बाढीले नियापानी देखि त्रिबेणी सम्मको खेतियोग्य जमिनमा क्षति पुगेको छ ।

 सिचाइकुला भत्किएका छन । जसले सिचाइँ र विद्युत सेवा ठप्प भएको छ । तत्काल विद्युत सेवा सञ्चालन गरेर उज्यालो प्रदान गर्न र सिचाइँ कुलो मर्मत गरेर सिचाइँ व्यवस्थापन सहज बनाउन मन्त्रीलाई अनुरोध गर्नुभयो । यहाँका नागरिक स्थानीय खेतिमै निर्भर रहेका छन् । तत्काल सिचाइँ व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो । सिचाइँ कुलो र विद्युतको नहर एउटैले चलेकोले निकै ठुलो समस्या निम्तिएको छ । गाउँ दुइ हप्ता देखि अन्धकार रहेको सो वडाका स्थानीयवासि आफ्नो गुनासो सुनाएका थियोे ।


मन्त्री श्रेष्ठले बाढीले जनजीवन अस्तव्यस्त बनाएको प्रति गहिरो दुख पोखे । मन्त्री श्रेष्ठले भन्नुभयो,“बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्न तपाइहरुको घरदैलोमा पुगेको छु । यहाँ देखिएका समस्या तत्काल संवोधन गर्नको लागि मन्त्री परिषद र कर्णाली प्रदेश विपद परिषदमा छलफल चलाउनेछु ।

 छिटोभन्दा छिटो यहाँका बाढी प्रभावित नागरिकले राहतको अनुभुति हुने गरी पहल गर्नेछु । तत्काल बाढीले विद्युत सेवा ठप्प भएको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरण जुम्ला इकाइलाई निर्देशन गरिसकेको छु । केही दिनमै गाउँमा विद्युत सेवा सहज हुनेछ । खानेपानी समस्या भएको क्षेत्रमा पाइप पठाउने र प्राविधिक खटाएर मर्मत तथा निर्माणका काम अघि बढिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो । ”

जुम्लामा बाढीले आधा दर्जन बढि विद्युत गृहमा क्षेति पुगेको छ । १३ हेक्टर खेतियोग्य जमिन कटान गरेको छ । खानेपानी,विद्यालय, सिचाइकुला, पुलपुलेसा लगायतका संरचनामा क्षेति पुयाएको छ । मन्त्री श्रेष्ठले बाढीले क्षेति गरेको एक दिनमै तत्काल गर्नुपर्ने काम अघि बढाउन कर्णाली प्रदेशका दसवटै जिल्लामा माताहतका कार्यालयलाई निर्देशन दिइसकेको स्वकीय सचिव महेन्द्र कार्कीले बताउनुभयो ।  


Top