सफल होला-नहोला व्यावसायिक फूलखेती

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक १४, २०७८ (३:४५ PM)

सफल होला-नहोला व्यावसायिक फूलखेती

सुर्खेत । तिहारमा सबैभन्दा ठूलो महत्व राख्ने सयपत्री र मखमली फूल पछिल्लो समय हराउँदै जान थालेको छ । सयपत्री र मखमली हराउन थालेपछि भारतबाट आयात हुने प्लाष्टिकका मालाहरुले बजार छपक्कै हुने नै भयो तर कर्णालीको राजधानी सुर्खेतमा भने एक युवाले प्रयोगात्मक रुपमा फूलखेती गर्नुभएको छ । वीरेन्द्रनगर ३ निवासी इन्द्रजीत सुनारले तिहारलाई लक्षित गरी प्रयोगात्मक रुपमा फूलखेती गर्नुभएको हो ।

तिहारमा फूलको बजार व्यवस्थापन गर्न सकिएको खण्डमा अर्को वर्षदेखि व्यावासायिक रुपमा नै खेती गर्ने योजना भएपनि यस वर्ष भने ३ कट्ठा जग्गा भाडामा लिएर प्रयोगात्मक रुपमा खेती गरेको सुनारको भनाई छ । सुर्खेतमा अहिलेसम्म कसैले पनि व्यावसायिक रुपमा फूलखेती गरेका छैनन् । नयाँ खेतीको प्रयोग गरिरहेको छु कति सफल हुन्छ कति हुँदैन त्यो हेर्न बाँकी छ सुनारले बताउनु भयो ।

तिहारको समयमा स्थानीयस्तरबाट हुने फूलको माग र उत्पादनको अवस्था हेरी व्यावसायिक पुष्प खेतीलाई बढावा दिने योजनामा रहेको रहेको बताउने सुनारले खेतीका लागि कृषि पढेका एक जना प्राविधिक पनि राख्नुभएको छ । आफू पनि कृषि पढेको भएकाले पढाईलाई व्यवहारमा उतार्न पनि फूलखेतीमा होमिएको सुनारले बताउनु भयो ।

‘माटो र स्याहार भयो भने फूल खेती सोचे अनुसार हुनेरहेछ फूलेर मनमोहक बनाइरहेका सयपत्री देखाउँदै सुनारल भन्नुभयो, ‘करिब ३ कठ्ठा जग्गामा सयपत्री खेती गर्न एक लाख रूपैयाँ लाग्यो ।’ सयपत्री माला बनाउनका लागि तयारी अवस्थामा रहेको छ । ‘यसलाई टिप्यो भने पनि योभन्दा बढी फुल्छ, तिहारलाई पनि काम लाग्छ ।’ थाईल्याण्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको फूल लगाईएको छ ।

यो जातको सयपत्रीको सबै हाँगाहरुमा फूल लाग्छन् । एक लाख लगानी गरिएको खेतीबाट ३ लाख रुपैयाँसम्मको कारोबार हुने सुनारको अपेक्षा छ । उहाँले उत्पादन गरेका सत्रपत्री तिहारमा मात्र नभई मंसिरसम्म पनि खपत हुने अपेक्षा गरिएको छ । तिहारमा टिपेको बोटमा फेरि फूलेका सयपत्री विवाहको सिजन मंसिर महिनासम्म खपत हुनसक्छन् ।


Top