तीन दशकदेखिको पानीको संकट टरेसँगै स्थानीयमा खुसी

विजय रावत   POSTED ON : कार्तिक १६, २०७८ (५:३५ AM)

तीन दशकदेखिको पानीको संकट टरेसँगै स्थानीयमा खुसी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो वडाका स्थानीयवासी पानीको हाहाकार हुँदा करिब तीन दशकदेखि चरम पानीको संकटमा जीवन बिताउन बाध्य रहेका थिए । अहिले गाउँमा लिफ्ट एरिकेसनका माध्यमबाट खानेपानी पुगेपछि आफूहरू निकै हर्षित भएको स्थानीय जोखबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१४० घरधुरी भएको बाइराँका गाउँमा एकमात्र धारो हुँदा प्रत्येक घरलाई चार दिनको एकपटक पानी भर्ने पालो बाँडिएको थियो । गाउँमा खानेपानीको एउटैमात्र धारा रहेको थियो । चार दिनको एकपटक पालो आउँथ्यो । त्यसमा पनि २० लिटरमात्रै पानी भर्ने नियम थियो । अहिले गाउँको सिरानमा २० हजार लिटरको रिजर्भ ट्यांकी बनाइएको छ ।’ चार धाराबाट बाइराँका बासीले पर्याप्त खानेपानी पिउन पाएको स्थानीय शाहीले बताउनुभयो ।

‘गाउँको छेउमै तिला नदी छ । तर, नदीमा पिउनयोग्य पानी बग्दैन, हामीले वर्षौंसम्म त्यही नदीको दूषित पानीले प्यास मेट्यौं,’ स्थानीयवासी विमला शाहीले भन्नुभयो, ‘खानेपानी जोहो गर्नकै लागि विद्यार्थीको पढाइ प्रभावित हुने गरेको थियो । बिहान र बेलुकाभर विद्यार्थीलाई गाग्री बोकेर नदी पुग्नुपर्ने बाध्यता थियो । अहिले भने गाउँमा पानी पुगेपछि बालबालिकालाई हाइसञ्चो भएको छ ।’ पानी सार्दै विद्यालय छुट्थ्यो, आजभोलि सरसफाइ गर्नसमेत सहज भएको स्थानीय शाहीले बताउनुभयो ।’

खानेपानी पाउनै धौ-धौ पर्ने बाइराँकामा सिँचाइ र वस्तुभाउका लागि पानी पुग्ने कल्पना नै थिएन । लिफ्ट एरिकेसनमार्फत् पानी पुगेपछि तरकारी बारीमा सिँचाइ गर्न तथा वस्तुभाउलाई पानी दिन सहज भएको छ । पानी बोकेरै जिन्दगी बित्ने चिन्ता बोकेका स्थानीयले गाउँमा पानी पुग्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । हाल बाइराँ गाउँका १४० घरधुरीसहित गाउँको विद्यालयले पनि खानेपानी उपभोग गर्न पाएको छ ।

करिब आठ वर्षअगाडिबाट सुरु भएको खानेपानी आयोजना अलपत्र परेको थियो । खानेपानीकै लागि बाइराँका स्थानीयले रित्तो गाग्री बोकेर सदरमुकाममा आन्दोलनसमेत गरेका थिए । प्रदेशको २० लाख बजेटमा तिला नदीबाट झण्डै एक किमि माथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो । ‘यो वर्षमात्रै गाउँमा खानेपानी पु¥याउन सफल भएका छौँ ।’ अब क्रमशः घर–घरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको अध्यक्ष शाहीले बताउनुभयो । 

Top