साढे एक महिनादेखि विद्युत् सेवा अवरुद्ध, टालटुल गर्दै बजेट खर्च

दाने बोहरा   POSTED ON : कार्तिक १७, २०७८ (५:४३ AM)

साढे एक महिनादेखि विद्युत् सेवा अवरुद्ध, टालटुल गर्दै बजेट खर्च

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेका छन् । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र यहाँको उपभोक्ता समितिको चरम लापरबाहीले सदरमुकाम सिमकोटसहित दुईवटा गाउँपालिकाका सेवाग्राहीले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ । 

गएको भदौ अन्तिम महिनादेखि अवरुद्ध बनेको विद्युत् समयमै मर्मत नहुँदा सदरमुकामसहित सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार तीन सय बढी सेवाग्राही अन्धकारमा बस्न बाध्य बनेका हुन् । पावर हाउस नजिक रहेको ओभर फ्लो तथा विद्युत् गृहको फर्बेमा बाढीपहिरोले क्षति गर्दा विद्युत् सेवा झण्डै दुई महिनादेखि बन्द रहेको छ । विद्युत् गृहको फर्बेमा केहीमात्रामा मर्मत भएको भए पनि पहिरोले लिएको भाग पूरै मर्मत हुन नसकेको हो । 

पहिरोले लिएको भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूरै भाग मर्मतका लागि बजेट र सामग्रीको अभाव रहेको छ, अहिले केहीमात्रामा मर्मत गरेर अस्थायीरूपमा विद्युत् सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’ पहिरोले बगाएको क्यानलसहित अन्य क्षेत्र मर्मत गर्न ठूलो बजेट र बढी समय चाहिने उहाँले बताउनुभयो । पहिरोले बगाएको विद्युत् गृहको फर्बेमा झण्डै ३६५ थान ग्याबिनको समेत आवश्यक पर्ने देखिएको प्रमुख ऐडीले बताउनुभयो । मर्मतका नाममा हेल्दुम वितरण केन्द्रको आयोजनाले बर्सेनि करोड बढी खर्च गरिसकेको छ । तर, यसले दिगोपना दिन नसक्दा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । 

Top