सरकारलाई बाढीपीडित भन्छन्- ‘धानखेत बनाइदेऊ चामल नदेऊ’

विजय रावत   POSTED ON : कार्तिक २४, २०७८ (५:१३ AM)

सरकारलाई बाढीपीडित भन्छन्- ‘धानखेत बनाइदेऊ चामल नदेऊ’

जुम्ला । बाढीले धानखेत कामै नलाग्ने गरी क्षति पुर्‍याएपछि अहिले जुम्लाका किसानहरू सरकार गुहारिरहेका छन् । उनीहरू भन्छन्- ‘सरकार सेतो चामल नदेऊ यहाँको मार्सीधान फल्ने धानखेत बनाइदेऊ ।’

मार्सीधान भण्डारण गर्ने जिल्लाको तातोपानी गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरूको कमाइखाने आधार सकिएको हो । विगतका वर्षहरूभन्दा यसवर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरू कात्तिक २ मा धान काट्ने तयारी गर्दै थिए । यद्यपि, दशैँका कारण धानबाली भण्डारण गर्न भने पाएका थिएनन् । 

एकदिनको पर्खाइले किसानको जिउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् । तिला-४ जुम्ला साँपुल्ली गाउँका पशुपति शाहीले दशैँको खुसी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुःखेसो हिमालय टाइम्ससँग पोख्नुभयो । उहाँले भन्नुभयो, ‘दशैँ मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर, विपत्तिले हाम्रो श्रम, मिहिनेत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासी जस्तै भएका छौँ ।’ बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उहाँले भन्नुभयो, ‘सरकारले चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पु¥याए दीर्घकालीन समस्या समाधान हुने थियो ।’ 

सोही वडाका बाढीपीडित पदमकौंरा शाहीले यति भयानक विपत्तिमा पनि संघ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोख्नुभयो । ‘जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेतखेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्,’ शाहीले भन्नुभयो, ‘यो त उनीहरू सबैको झुटको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।’ बाढीपीडित हाँसु सुनार पनि आफ्नो धानखेतको कुनै अवशेष नरहेको बताउनुहुन्छ । ‘धानखेतमा बाढीले ल्याएको दाउरा संकलन गर्नेबाहेक अरू सबै गुमेको छ,’ सुनारले दुःखेसो पोख्दै भन्नुभयो ।

बाढीले दलित तथा गरिबहरूलाई ठूलो समस्या परेको छ । प्राकृतिक विपत्तिले एक अर्ब रुपैयाँ बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा संघ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो । बाढीले झोलुंगे तथा काठे पुलहरू बगाइदिएपछि तिला गाउँपालिका-४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठूलो समस्या भएको छ । रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात् आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी पिउन बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका-४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् । कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत् गृह ध्वस्त बनाएको थियो । सिञ्चाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका-४ गिरीखोला जुम्लाको सिञ्चाइ क्षेत्रमा मात्र १५ करोड रुपैयाँको क्षति पु¥याएको छ । बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगरमा परिणत गरेको छ ।

Top