कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

विजय रावत   POSTED ON : कार्तिक २४, २०७८ (४:४२ PM)

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

जुम्ला ।  कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा अँध्यारोमा बस्न बाध्य भएका छन् । देशको कुल जल विद्युत उत्पादनमा दोस्रो स्थानमा योगदान गर्ने कर्णाली प्रदेश आफै भने अध्यारोमा छ । यहाँका ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र सौर्य उर्जाको भरमा दैनिकी चलाइरहेका छन् । करिब १८ लाखभन्दा बढी जनसंख्या रहेको कर्णालीमा करिब ३३ दशमलब ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको प्रत्यक्ष पहुचमा छन् । बाँकी १३ लाख अर्थात् ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्यांकले देखाउँछ । करिब १८ हजार मेगावाट विद्युत उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा यहाँका नागरिक बत्तीमुनि अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिक अधिकारकर्मी बताउँछन् ।

केही वर्ष पहिलेसम्म कर्णालीका ७२ प्रतिशत नागरिक विद्युतको पहुँचबाहिर थिए । प्रदेश तथा स्थानीय सरकार आएपछि साना तथा लघु जलविद्युत र सौर्य ऊर्जा निर्माण गरेपछि पाँच प्रतिशतले घटेको भौतिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले विगतका वर्षहरू जस्तै चालु आर्थिक वर्ष २०७८–७९ मा पनि प्रदेशका जिल्लाहरूमा ग्रामीण विद्युतीकरणका लागि भन्दै ४२ करोड ३१ लाख बजेट विनियोजना गरेको छ । तर, प्रदेश सरकार गठन भएयता तीन वर्षमा कर्णालीलाई लघु जल विद्युत तथा वैकल्पिक ऊर्जामार्फत अँध्यारोमुक्त बनाउने सरकारको लक्ष्य पनि सपना जस्तै भएको छ ।

विद्युतको पहुच कुन जिल्लामा कति ?

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा ४७ प्रतिशत, सल्यानमा ५० रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४ प्रतिशत जनसंख्याले मात्र विद्युत सेवा पाएका छन् । डोल्पामा २० प्रतिशत ,जुम्लामा ५,कालीकोटमा २२,मुगुमा १९,र हुम्लामा २८ प्रतिशत नागरिक विद्युतको पहुचमा छन् । यो राष्ट्रिय प्रसारणलाइन, लघु जलविद्युत आयोजना र वैकल्पिक ऊर्जा लगायतबाट लाभान्वितहरूको संख्या हो । तथ्यांकअनुसार सबैभन्दा बढी सल्यानमा र सबैभन्दा कम जुम्लाका नागरिक विद्युतीय पहुँचमा रहेका मन्त्रालयको ऊर्जा विकास महाशाखाले जनाएको छ ।

सात जिल्लामा पुग्यो राष्ट्रिय प्रसारण लाइन

हालसम्म कर्णाली प्रदेशका दश जिल्लामध्ये सात वटामा मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन जिल्लामा अझै राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट,रुकुम–पश्चिम र जुम्ला सदरमुकाम खलंगा बजारमा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुचमा पुगेको छ । माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पामा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो, भन्ने हालसम्म कुनै टुंगो लागेको छैन । माथिल्लो कर्णालीबासीले कहिले राष्ट्रिय प्रसारण लाइन आउने हो भनेर आशमा बसेको यहाँका नागरिकहरू बताउँछन् । विद्युत उत्पादनका स्रोत पर्याप्त हुँदाहुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला, ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन नसकेको उनीहरू सरकारमाझ गुनासो गर्छन् । 



Top