खाडलमै कुहियो सयौँ क्विन्टल आलु

दाने बोहरा   POSTED ON : कार्तिक २५, २०७८ (५:२० AM)

खाडलमै कुहियो सयौँ क्विन्टल आलु

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटका कृषकले खाडलमा भण्डारण गरी राखेको सयौँ क्विन्टल आलु कुहिएर खेर गएको छ । सिमकोट गाउँपालिका-५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बिउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर खेर गएको छ । 

तरकारी र बिउका लागि स्टोर गरी राखेको सयौँ क्विन्टल आलु कुहिएर खेर गएपछि यहाँका किसान चिन्तित भएका छन् । बिउका लागि र हिउँदमा खानका लागि खाल्डोमा शीतभण्डार गरी राखेको आलु कुहिएपछि समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुखेसो गर्नुभयो । 

शीतभण्डारका लागि घर नजिकको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीय कृषक रोकायाले बताउनुभयो । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाको पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उहाँले बताउनुभयो । सबै आलु कुहिएपछि खानमात्र नभई बिउ जोगाउनै मुस्किल भएको छ । 

यस्तै स्थानीय सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बिउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नुपरेको सुकिल्ली रोकायाले गुनासो पोख्नुभयो । 

अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीय अर्का किसान मुक्ति रावतले बताउनुभयो । खाने आलुभन्दा बिउका लागि समस्या भएको रावतले बताउनुभयो । शीतभण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि कृषकहरू हिउँदमा खाने तरकारी र बिउका लागि चिन्तित भएका छन् । सिमकोट गाउँपालिका-५ का अधिकांश कृषकहरूको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ ।

आलु भण्डारका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बिउका लागि खाडलमा राखिएको आलु कुहिएर खेर जाँदा लाखौँको नोक्सानी बेहोर्नुपरेको वडा नम्बर ५ का सुन्दर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारको आलु बिक्रीसमेत हुने गथ्र्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ । अब अर्को वर्ष बिउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने भएको छ ।’

Top