टिकट नपाएर परीक्षा दिन जाने परिक्षार्थी सिमकोटमा अलपत्र

रिपोर्टिङमा जाने पत्रकार माथि प्रहरीको दुर्व्यवहार

दाने बोहरा   POSTED ON : कार्तिक २७, २०७८ (५:२१ PM)

  टिकट नपाएर परीक्षा दिन जाने परिक्षार्थी सिमकोटमा अलपत्र

हुम्ला  । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई जहाजको टिकट नपाउँदा हुम्लाका विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । जिल्ला बाहिर जोड्ने एक मात्रै हवाई जहाजको टिकट नपाउँदा टिकट परीक्षा दिन जाने जिल्लाका विद्यार्थी विमानस्थलमै अलपत्र परेका छन् । दसैँ, तिहार मनाउन घर आएका विद्यार्थीहरू जहाजको टिकट नपाएपछि समस्यामा परेका छन् । 

     उनीहरूले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् । दैनिक दिन विहान चारबजेको समयमा निजी एयरलाइन्सहरुको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ । दुई सातादेखि जहाज टिकट नपाएपछि मंसिर १ गते हुने परीक्षा छुट्ने भन्दै खार्पुनाथ वडा नम्बर १ का विष्णु रावलले गुनासो पोख्नुभयो । उहाँको हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा रूटिङ भएपनि टिक नपाएको गुनासो गर्नुभयो । सिफारिस र क्याम्पसको परीक्षा रूटिङसहित विमानस्थल धाउँदा पनि टिकट नपाएको दुखेसो गर्नुभयो । निजी एयरलाइन्सका हवाई जहाजले आफु खुसि टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधरण तथा विद्यार्थीले मंसिरमा हुने परिक्षा छुट्ने भन्दै छटपटाई रहेका छन् । 


     झण्डै एक हप्ता बढी देखि सिता एयरलाइन्स नेपालगञ्जमा विग्रीएका कारण उडान भर्न सकेको छैन् भने समिट र तारा एयरलाइन्सले फोन तथा पावर र पहुँचका भरमा आफु खुसि टिकट वितरण गरिरहेका छन् । यता जिल्लाका जनप्रतिनिधि, र सरोकारवाला निकाय, नागरीक समाज मौन बसिरहेका छन् । भने उता जिल्ला बाहिर जाने यात्रु दैनिक दिन विमानस्थल धाउदा टिकट नपाएर छटपटाई रहेका छन् । 

      यस्तै आज विहान जहाजको टिकट नपाएर अलपत्र परेका यात्रुको रिपोर्टिङमा गएका पत्रकारमाथि विमानस्थलमा खटिएका प्रहरीले दुर्व्यवहार गरेको छ । जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सैयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमास्थलका सुरक्षा गार्डले दुर्व्यवहार गरेका हुन् ।

      दुई सातादेखि विमानस्थलमा घुइँचो लागेर टिकट नै नपाएको विषयमा पत्रकारले रिपोर्टिङ गर्न खोज्दा नयाँ पत्रिकाका हुम्ला जिल्ला संवाददाता नरजन तामाङलाई विमानस्थलमा खटिएका सई देवबहादुर खड्काले दुर्व्यवहार गरेका हुन् । सर्वसाधारणले सजिलै टिकट नपाएपछि विमानस्थलको गेटमा रहेका यात्रुको फोटो खिच्न खोज्दा प्रहरी सइ खड्काले दुर्व्यवहार गरेका थिए । 

      यतिखेर विमानस्थलमा जिल्लाबाहिर जानका लागि सयौं विद्यार्थी तथा विरामीहरुको घुइँचो लागेको छ । तर, उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता लिएर हुन बाध्य छन् भने पहुँचवाला व्यक्तिहरु मात्रै जिल्लाबाहिर जान पाएका छन् । प्रहरीले गरेको दुर्व्यवहारप्रति इन्सपेक्टर दानसिंह भण्डारी र दामु पुन पुनलाई कुरा गर्दा उल्टै इन्स्पेक्टर पुनले प्रहरीमाथि दूर्व्यवहार भएको आरोप लगाउनुभयो । तर, अर्का इन्स्पेक्टर भण्डारीले भने यसको सहजीकरणका लागि उपयुक्त विकल्पबाट जान पत्रकारलाई अनुरोध गर्नुभयो । 


    टिकट नपाउँदा कतिपय विद्यार्थीहरुको परीक्षासमेत छुटेको छ । सर्वसाधारणका समस्या बेवास्ता गर्दै हवाई कम्पनीका कर्मचारीले पावर र पहुँचका भरमा टिकट वितरण गरिहेका छन् । स्थानीय प्रशासन, जनप्रतिनिधिलगायत सरोकारवाला निकाय भने मौन छन् । दिनरात नभनी टिकटका लागि लाइनमा बसेका विरामी र विद्यार्थीका बारेमा नागरिक उड्डयन मन्त्रालय मौन छ । जिल्लामा दैनिक रातको ४ बजेदेखि सर्वसाधरण नागरिकहरु निजी हवाई कम्पनीका कार्यालयमा लाइन बसेका हुन्छन, तर पनि टिकटको टुंगो हुँदैन । 


Top