सिंजा सभ्यता विधेयकमाथि सुझाव संकलन गरिँदै

विजय रावत   POSTED ON : कार्तिक २८, २०७८ (२:१० PM)

सिंजा सभ्यता विधेयकमाथि सुझाव संकलन गरिँदै

जुम्ला ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिंजा सभ्यताको विधेयकमाथि सुझाव संकलन गरिने भएको छ । 

कर्णाली प्रदेशसभामा दर्ता भएको सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक माथि सुझाव सङ्कलन गरिदैं छ । प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विधेयक सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक माथि छलफल हुने  कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारीले बताउनुभयो । 

भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गराएका थिए । सो विधेयकलाई पूर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।  सुझाव सङ्कलन कार्यक्रममा प्रदेश सभा संसदीय टोली सहित सिंजा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायतका सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले बताउनुभयो । विधेयक माथि सुझाव सङ्कलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासङ्घ जुम्लालाई दिइएको छ । कनकासुन्दरी– ४ लामाथाँडामा सुझाव सङ्कलन कार्यक्रम शुरु हुने भएको छ । सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदा माथि छलफल तथा छुटेका विषय वस्तु समेट्ने गरी सुझाव सङ्कलन हुने छ ।

नेपाली भाषाको उद्गम स्थल सिञ्जाको विरासतलाई जोगाउन सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक कोशे ढुंथा साबित हुने पुर्वमन्त्री भण्डारीले बताउनुभयो । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथिको छलफल, सिंजा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउन समेत विधेयकले महत्व भूमिका खेल्ने बुझिएको छ ।


Top