सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

विजय रावत   POSTED ON : कार्तिक २९, २०७८ (५:५८ AM)

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । सो गाउँपालिकाको–२ मुरली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालेको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न थालिएको छ । विगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो व्यवस्थापन गरिरहेका छन् । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन्  । योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ ।’ गाउँ-गाउँमा सडक, घर-घरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख रुपैयाँ विनियोजन भइसकेको छ । ५० वाटको सौर्य ऊर्जाको बिजुली बाल्ने कामको सुरुवात भएको छ । सौर्य ऊर्जाबाट गाउँपालिकाभित्रका सबै बस्तीमा बिजुली बाल्ने तयारी रहेको छ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो ।

सबै घरधुरीमा अझै विद्युत् सेवा पुगेको छैन । अब छिट्टै ती सबै घरधुरीमा विद्युत् सेवा पुग्ने अवस्था देखिएको छ । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सबैभन्दा सास्ती हुने गरेको थियो । अब निकट भविष्यमै अन्धकार हटेर वडाभर उज्यालो हुने गाउँपालिकाले जनाएको छ । 

गुठीचौरमा होमस्टे सञ्चालन

यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ वटा होमस्टे सञ्चालनमा आएका छन् । सो गाउँपालिकाको–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालनमा ल्याएका छन् । होमस्टेमा पर्यटकले सम्मान सत्कार पाउँछन् । यहाँको रैथाने वस्तुको खानाले यहाँका होमस्टे राम्ररी चलिरहेको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारका बारेमा स्थानीयलाई जागरुक बनाउने कार्य भइरहेको छ । अध्यक्ष भण्डारीले भन्नुभयो, ‘होमस्टे यहाँका रैथाने वस्तुको प्रवद्र्धन, स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन् । होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरुन् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ ।’ गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

होमस्टे व्यवस्थित बनाउनका लागि पालिकाले होमस्टे सञ्चालकलाई सामग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखा प्रमुख मोतीप्रसाद जैसीले बताउनुभयो । यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेर अघि बढ्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

Top