भीषण आगलागीले खरानी बन्यो गमगढी

२१ घर पूर्णरूपमा जलेर नष्ट, एक घर भत्काइयो, सय करोडमाथिको क्षति भएको प्रारम्भिक अनुमान

विजय रावत   POSTED ON : मंसिर १, २०७८ (७:२२ AM)

भीषण आगलागीले खरानी बन्यो गमगढी

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा सोमबार मध्यराति भीषण आगलागी हँुदा २१ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । एक घर कामै नलाग्ने गरी भत्काइएको छ । आगलागी नियन्त्रणमा लिनका लागि दमकल नहुँदा चार घण्टा लागेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । ‘आगलागीबाट २१ घरटहरा जलेर नष्ट भएका छन् थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो । राति करिब साढे १२ बजे आगलागी सुरु भएको र बिहान साढे ४ मा मात्रै नियन्त्रणमा लिइएको थियो’ उहाँले बताउनुभयो । 

स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ भट्टराईले भन्नुभयो, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट घरबारविहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ । उनीहरूलाई राहत उपलब्ध गराउन मंगलबार जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतामा बैठकसमेत बसेको थियो । बैठकले प्रदेश र संघ सरकारलाई खरानी भएका घर पुनर्निर्माणका लागि स्थानीय सरकार, उद्योग वाणिज्य संघ र संघसंस्थालाई राहत उपलब्ध गराउनका लागि र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय छ । 

आगलागीबाट ठिन्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्बा लामा, एन्गल लामा, डम्बर मल्ल, तोर्चे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजंग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ लामाका घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौँको धनमाल नष्ट भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरूसँग मंगलबार दिउँसोबाट सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ । बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबार मात्र करोडौंको मूल्यभन्दा बढीको क्षति भएको र पसलहरूको सामानसमेत जोड्दा सय करोड आसपाससम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको उपरीक्षक भट्टराईले बताउनुभयो । 

पुराना माटो, ढुंगा र काठले बनेका घरहरू भएकाले आगोले उग्ररूप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरू उठाउनसमेत पाएनन् । गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।

जिल्लामा दमकल नहुँदा आगलागीले उग्ररूप लियो : शाही 

नेपाली कांग्रेसका मुगु सभापति ऐनबहादुर शाहीले जिल्लामा एउटा पनि दमकल नहुँदा आगलागीले उग्ररूप लिएको बताउनुभएको छ । हिमालय टाइम्ससँग कुरा गर्दै सभापति शाहीले जिल्लामा पानीको अभाव रहेको, त्यस्तोमा एउटा पनि दमकल नभएको र बीचबजारमा सडकसमेत फराकिलो नहुँदा आगो निभाउन समय लागेको बताउनुभयो । 

उहाँका अनुसार यहाँका घरहरू माटो र काठले बनेको र घरहरू पनि जोडिएकाले सहजै आगो फैलिएको हो । यहाँ क्षति भएका घरहरूमा धेरैजसो पसलहरू रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो हिमाली जिल्ला हो । यहाँको भू–बनोटअनुसार नै पहिलेदेखि घरहरू जोडिएर बनेका छन्, त्यस्तोमा बजार क्षेत्रमा बाटो सानो छ, अझ बीचबजारमा त सानो गाडी मात्र चल्छ, त्यस्तोमा आगलागी हुँदा स्थानीय टुलुटुलु हेरेर बस्नेबाहेक अरू केही गर्न सकेनन् ।’ 

स्थानीयको सहयोगमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लागेको उहाँ भन्नुहुन्छ । यहाँ चारवटा स्थानीय तह रहेको छ । छायानाथ रारा नगरपालिकाको वडा नं १ भित्र रहेको गमगढीमा आगलागी भएको हो । यहाँ विशेष गरी लामा, तामाङ, क्षत्री, दलित, शाही, ठकुरीको बाहुल्यता रहेको छ । 

आगलागीबाट यहाँ सय करोडमाथिको क्षति भएको सभापति शाहीले बताउनुभयो । ‘यो प्रारम्भिक अनुमान मात्र हो, एक त बजार क्षेत्र, त्यसमा व्यापारीको घर धेरै परेकाले मंगलबार गरिएको प्रारम्भिक अनुमानअनुसार यो अंक निकालिएको हो । आधिकारिक तथ्यांक आउन बाँकी छ’ उहाँले भन्नुभयो । अहिले पीडितहरूलाई छिमेकीको घरमा राखिएको छ । मंगलबार रेडक्रसले सामान्य राहत उपलब्ध गराएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

मुख्यमन्त्री शाही राहत लिएर आज जाँदै 

कर्णाली प्रदेश सरकारले मुगुको गमगढी बजारका आगलागीपीडितलाई राहत दिने घोषणा गरेको छ । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गर्नुभएको हो । 

मंगलबार एक विज्ञप्ति जारी गर्र्दै उहाँले अपत्कालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि दिइसकेको बताउनुभयो । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो । यसैबीच, मुख्यमन्त्री शाही राहत लिएर मंगलबार नै काठमाडौंबाट हेलिकप्टरमार्फत मुगुका लागि उडे पनि रात परेकाले मंगलबार सुर्खेतमै बस्नुभएको छ । उहाँ आज मुगु जाने कार्यक्रम छ । यसैबीच यहाँका स्थानीयले यस दुःखद घडीमा सक्दो सहयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गैरसरकारी संघसंस्थाहरूसँग आग्रह गरेका छन् । 

यता, मुगु कांग्रेसले पनि आगलागीबाट भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । जिल्ला सभापति ऐनबहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पीडितहरूलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन स्थानीय प्रशासन, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला निकायहरूलाई अनुरोध गर्नुभएको छ । 

Top