हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

दाने बोहरा   POSTED ON : मंसिर २, २०७८ (१०:३२ AM)

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवाले पछिल्लो केही दिन यता देखि नियमीत उडान भरि रहेका छन् । दशैं तिहारको समयमा जिल्ला बाहिर जाने यात्रुको चाप बढी रहेका बेला केही दिनयता देखि नेपाल एयरलाइन्स सहित निजी एयरलाइन्सहरुले हुम्लामा आफ्नो उडान थप गरेका छन् । 

हुम्ला देखि जिल्ला बाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल श्रोतका अनुसार नेपालगञ्ज, सुर्खेत देखि हुम्लाबाट सिता, समिट र तारा एयरलाइन्सले नियमीत उडान भर्दा यात्रुको चाप घटेको छ । सिता एयरलाइन्सले विहान देखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट, र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन् ।

जिल्लामा अभाव भएको हवाई उडान निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्ला बाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । दशैं तिहार, मनाउन घर पुगेका विद्यार्थी सहित स्वास्थ्य उपचार, तथा काम विशेषले जिल्ला बाहिर जाने यात्रुलाई थप सहज भएको हो । सिमकोट विमानस्थलमा दैनिक सयौँको संख्यामा भिडभाड हुने गरेपनि दुईदिन यता देखि यात्रुको चाप निकै घट्दै आएको छ । 

नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन फ्लाईट

यस्तै सरकारी स्वामित्वको नेपाल एयरलायन्सले हुम्ला लगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ । हुम्ला सहितका विमानस्थलहरुमा यात्रुको चाप बृद्धि भएकाले उडान संख्या थप गरेको जानकारी प्राप्त भएको छ । 

नेपाल एयरलायन्सले हुम्लाका लागि एक हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखाका प्रमुख बलबहादुर सुनारले बताउनुभयो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन फ्लाईट गर्ने भएको प्रमुख सुनारले बताउनुभयो । नेपाल एअरलायन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान गर्ने भएको उहाँले बताउनुभयो ।

सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एअरलायन्सको ६ हजार ९१० रुपैयाँ छ, भने निजी स्तरका तारा र सीता एयरले ६ हजार ३० र समिट एयरले ६ हजार १३० रुपैयाँ लिने गरेका छन् । 


Top