रेडपाण्डा संरक्षणमा जुट्यो हातेमालो नेपाल

विजय रावत   POSTED ON : मंसिर १२, २०७८ (७:०६ AM)

रेडपाण्डा संरक्षणमा जुट्यो हातेमालो नेपाल

जुम्ला । रेडपाण्डा संरक्षणमा गैरसरकारी संस्था कर्णाली हातेमालो सेवा समाज नेपाल जुम्ला जुटेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि गैरसरकारी संस्था हातेमालो र यहाँको स्थानीय तहसँग सहकार्य गरेर काम गरेको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘रेडपाण्डाको संरक्षणका लागि स्थानीय तहसँग सहकार्य र समन्वयमा काम सञ्चालन भएका छन् । स्थानीय तहको सबैभन्दा बढी काम हुने गर्छ रेडपाण्डा संरक्षणमा ।  वन्यजन्तु संरक्षण ऐन, २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको खण्डमा वा ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरेको छ । रेण्डपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।’ बासस्थान विनाश, खण्डीकरण, चोरीसिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती रहेको कार्यकारी निर्देशक रावतले बताउनुभयो ।

रेडपाण्डाको चोरीसिकारी नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने गरेको छ । रेडपाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नुपर्ने आवश्यक रहेको छ । रेडपाण्डाको संरक्षण र चोरीसिकारीमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको रेडपाण्डा संरक्षक दिनेश घलेले बताउनुभयो ।

रेडपाण्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको छ । सामुदायिक वन संरक्षणको काम अघि बढ्नेबित्तिकै रेडपाण्डाको संरक्षण हुने देखिन्छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपाण्डाको संरक्षण चुनौतीपूर्ण देखिएको छ । रेडपाण्डाको चोरीसिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपाण्डा असुरक्षित हुने गरेको रेडपाण्डा संरक्षक घलेले बताउनुभयो । 

उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु आठदेखि दश वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाका रूपमा लिइन्छ । रेडपाण्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन-अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिएकाले यसलाई संरक्षण स्थानीय सरकार लागिपरेको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् ।  

Top