लिमी पुग्यो ७८ क्विन्टल खाद्यान्न

दाने बोहरा   POSTED ON : मंसिर १४, २०७८ (५:५९ AM)

लिमी पुग्यो ७८ क्विन्टल खाद्यान्न

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा ७८ क्विन्टल खाद्यान्न पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबार बिहानदेखि ढुवानी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो । 

चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि ढुवानी हुनुपर्ने खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमरी हुने सम्भावना बढी देखिएको हो । भोकमरी नहोस् भनेर लिमीका बासिन्दाका लागि सोमबार मात्रै हेलिकप्टरले ७८ क्विन्टल खाद्यान्न पु¥याइएको छ । नेपाली सेनाको हेलिकोप्टरले सिमकोट र हिल्साबाट गरी ७८ क्विन्टल खाद्यान्न लिमी पु¥याएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । लिमीमा खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर आइतबार बेलुका काठमाडौंबाट सिमकोट पुगेको थियो । 

सिमकोटबाट दुई वटा उडान भर्दै हेलिकप्टरले २१ क्विन्टल खाद्यन्न लिमी ढुवानी गरेको हो भने, यता, हिल्सामा रहेको ४६० क्विन्टल मैदा र २० बोरा चामलमध्ये हेलिकप्टरले चारवटा उडान भरेर ५७ क्विन्टल ढुवानी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

लिमीका लागि पाँच सय दुई क्विन्टल खाद्यान्न ढुवानी हुनुपर्ने भए पनि सोमबारबाट सुरु भएको उहाँले बताउनुभयो । ६ वटा उडान भरेर सेनाको हेलिकप्टर इन्धनको लागि सुर्खेततर्फ लागेको छ । सुर्खेतबाट इन्धन ल्याएपछि पुनः मंगलबारबाट सिमकोट र हिल्साको खाद्यन्न ढुवानी हुने उहाँले बताउनुभयो । सोमबार पहिलो दिन ७८ क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी रहेको ४२४ क्विन्टल निरन्तर ढुवानी हुने भएको छ । 

हेलिकप्टरको बढी वजन बोक्ने क्षमता भए पनि उच्च क्षेत्रमा उडान भर्नुपर्ने भएपछि १० देखि १२ क्विन्टल मात्र खाद्यान्न बोकेको उहाँले बताउनुभयो । खाद्यान्न लिमी, हल्जी गाउँमा ढुवानी गरिएको हो । लिमीमा सबै खाद्यान्न ढुवानी भएपछि तिल, जाङ र हल्जी गरी तीनवटा गाउँको संयुक्त बैठक बसेर वितरण प्रक्रिया सुरु गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । 

वडा ६ लिमीमा खाद्यान्न अभाव भएपछि लिमीबाट २७ जना स्थानीयको टोली वडाध्यक्षको नेतृत्वमा हिउँ छिचोलेर सिमकोट आइपुगेको थियो । वडा अध्यक्ष तामाङ काठमाडौंसम्म समस्या समाधानका लागि पुग्नुभएको थियो । हेलिकप्टरको पहिलो उडानमा खाद्यान्न लिएर हुम्ला जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सासद रंगमती शाही र वडा अध्यक्ष तामाङ लिमी पुग्नुभएको थियो ।

Top