स्थानीय सरकार सञ्चालनपछि गाउँमा खनिए ग्रामीण सडक

विजय रावत   POSTED ON : मंसिर २०, २०७८ (६:१४ AM)

स्थानीय सरकार सञ्चालनपछि गाउँमा खनिए ग्रामीण सडक

जुम्ला । स्थानीय सरकार गाउँमै सञ्चालन भएदेखि जुम्लाका ग्रामीण गाउँबस्तीमा सडक निर्माण भएका छन् । जिल्लाका आठवटै स्थानीय तहको मुख्य काम भनेकै सडक निर्माण रहेकोे यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । यहाँको  तिला गाउँपालिका-७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएको छैन । 

तिला गाउँपालिका–१ रारालिहीस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि ग्रामीण सडक सञ्चालनमा आएको सोही गाउँपालिकाको वडा नम्बर ९ मालापानी गाउँका स्थानीयवासी मानबहादुर बुढाले बताउनुभयो । स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ । अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चड र मानिसको पिठ्युँ नै हुन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चड र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ । गाउँघरमा सडक पुगेपछि स्थानीयवासी खुशी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको स्थानीयवासी वीरमान रोकायाले बताउनुभयो । सो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पुर्‍याएको हो । 

झण्डै पाँच करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयवासीको छ । सो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ । दुई वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार आएपछि गाउँ-गाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ ।’ यो पालिकाको उपलब्धि हो ।  गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

Top