17th April | 2021 | Saturday | 2:35:54 AM

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

ध्रुर्बसागर शर्मा   POSTED ON : पुष २, २०७७ (७:०२ PM)

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

म्याग्दी । दुई भाइ र छोरा अमेरिका,बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । 

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखका ४६ वर्षिय ध्रुर्ब थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ,छोरो र बुहारीबाट मासिक रु १२ लाख भन्दा बढी थापाको हातमा पर्छ । 

तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक १२ लाख रुपैयाँले ऐयासी र घमण्डी बनाएन । बरु उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा वचत गरिदिने र घरखर्च लगाएत आफ्नो व्यवहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्यो भन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाहरुले सानालेखमा तरकारी फलाउँ अभियान चलाएर आफैं स्वावलम्वी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।

थापाले दुई वर्ष अघि रहरै रहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले  अहिले उहाँलाई व्यवसायिक मात्रै बनाएन् सरल स्वभावका पौरखी आग्र्यानिक कृषकको परिचय पनि दियो ।

थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका वेमौसमी तरकारी खेती गरेका छन् । १८ वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्ष अघि रहरै रहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक ३ लाख रुपैयाँ भन्दा बढी कमाइ गर्दै आउनुभएको छ  । उनको बारीमा अहिले काउली,बन्दा,खुर्सानी,धनियाँ,गोलभेडा,रायो साग लगाएतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।

“मैले दुई वर्ष अघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ” थापाले भन्नुभयो “अरुको देखेर रहरै रहरले शुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यवसायिक बनायो,आम्दानी पनि राम्रै हुन थालेको छ ।”

थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० जना युवाहरुले पनि व्यवसायिक तरकारी खेतीको शुरुवात गरेका छन् । थापालाई यसैमा आत्म सन्तुष्टि मिलेको छ । थापा भन्नुहुन्छ “मैले गरेको वेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुसी यसैमा लागेको छ ।”

दुई वर्ष अघिसम्म चरेला,स्कुस,सिमी लगाएतका परम्परागत रैथाने तरकारी बाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनु पर्ने बाध्यतामा रहेका सानालेखवासीका वारीमा अहिले विभिन्न किसीमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् । 

स्थानीय हरिप्रसाद शर्मा भन्नुहुन्छ “अहिले त गाउँको रौनक नै फेरिएको छ,रहरै रहरमा धु्रब जीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जाने पछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको हब नै बनेको छ ।”

साना लेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मा लगायतका १० जना युवाहरुले अहिले व्यवसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु २ लाख बढी आम्दानी गर्दै आएका छन् ।









 


Views: 75