17th April | 2021 | Saturday | 2:27:44 AM

दाङमा निवारण भएन हात्तीपाईले

विवेक खड्का   POSTED ON : पुष १२, २०७७ (२:४९ PM)

दाङमा निवारण भएन हात्तीपाईले

दाङ । सरकारले सन २०२० सम्ममा नेपालबाट हात्तिपाईले रोगलाई निवारण गर्ने लक्ष्य लिएको थियो ।  त्यसका लागि बिगत १० बर्षदेखि प्रत्येक बर्ष औषधी खुवाउँदै पनि आएको थियो । तर, दाङमा भने त्यो लक्ष्य पूरा हुन सकेको छैन । दाङका पाँच पालिकाका सातवटा वडामा सर्वेक्षण गर्दा अझै पनि हात्तिपाईले संक्रमण देखिएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका पाँचवटा वडाका २ हजार ५४२ जनाको नमूना संकलन गर्दा १५८ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको हो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १० को टरिगाउँमा ३०८ जनामा गरिएको परिक्षणमा ८ जनामा हात्तिपाईलेको जिवाणु भेटिएको हो ।

त्यसैगरी तुलसीपुर १९ हाडिमेमा ३२२ जनामा गरिएको सर्वेमा ८ जनामा , घोराही २ को रामपुर, वडा नं. १० नारायणपुर र १६ को बाहुनडाँडाँमा ९५३ जनाको नमूना संकलन गरिएको परिक्षणमा ३५ जनामा हात्तिपाईले संक्रमित भेटिएका थिए । त्यस्तै लमही ६ मा ३०७ जनामा गरिएको नमूना संकलनमा १६ जना गढवा २ का ३३० जनामा गरिएको परीक्षणमा ६२ जना, राप्ती गाउँपालिकाको सिसहनियमा ३२२ जनामा गरिएको परिक्षणमा २९ जनामा संक्रमित भेटिएको चन्दले वताउनुभयो ।हात्तिपाईले रोगबाट सबैभन्दा बढि जोखिम दाङको गढवा गाउँपालिका र कम जोखिम लमही नगरपालिका रहेको चन्दको भनाई छ । चन्दका अनुसार १० बर्षदेखि दाङमा अभियान सञ्चालन भएपनि सोँचे अनुसार सबै नागरिकले औषधी सेवन नगरेकाले लक्ष्य हाँसिल गर्न नसकिएको हो । हात्तिपाईले रोगको लक्षण नदेखिने भएकाले औषधी सेवन गर्नेको संख्यामा कमी आएको समेत उहाँले वताउनुभयो ।


Views: 134