17th April | 2021 | Saturday | 2:28:29 AM

संसद विघटनविरुद्ध दाङको तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

विवेक खड्का   POSTED ON : पुष १३, २०७७ (६:०० PM)

संसद विघटनविरुद्ध दाङको तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

दाङ  । संसद बिघटनबिरुद्ध नेपाली कांग्रेसले दाङको ३ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन, सर्वसत्तावाद र भ्रष्टाचारको  कदम विरुद्ध जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा आज बिरोध प्रर्दशन गरेको हो ।

जिल्लाको घोराहीमा पार्टी कार्यालयबाट शुरु भएकोे बिरोध प्रदर्शन विपी चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो भने लमहीमा पनि विरोध सभा गरिएको छ  । उता, तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली बिरेन्द्र चोक हुदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका नेताहरुले नेकपाले स्थायी सरकार दिन नसकेको र अनियमितता गरेको संविधानको विरुद्धमा कदम चालेको लगायत नारा लगाएका थिए । नागरिकले दिएको दुई तिहाई बहुमतलाई नेकपाले नजरअन्दाज गर्दै संसद बिघटन गरेर जनतालाई अपमान गरेको टिप्पणी गरेका थिए ।

जनताले ५ वर्षका लागी दिएको मतको अहिलेको दुई तिहाई सरकारले अपमान गरेको भन्दै नेपाली जनताले कम्युनिष्ट पार्टीलाई राम्रोसगं नियाल्न जरुरी रहेको तर्क समेत गरे । सो अवसरमा कार्यक्रमका  प्रमुख अतिथि जिल्ला पूर्व सभापति विरकेशरी गौतमले नेपाली कांग्रेस प्रजातन्त्रवादी पार्टी र जनताको हक अधिकारका लागी लड्ने पाटी भएकाले चुनावदेखि कहिल्यै पनि नडराउने बताउनु भयो ।

केपी शर्मा ओलीको असंवैधानिक कदममाथिको फैसला अदालतले जे गर्नेछ सोही अनुसार कांग्रेस अघि बढ्न तयार रहेको वताउदै उहाले नयाँ जनादेशका लागि जनतामा जान परे कांग्रेस कत्ति पनि विचलित नरहेको भन्दै संविधान र लोकतन्त्रको बचाउन पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।

जनतालाई अधिकार सम्पन्न गराउँदै लोकतन्त्र रक्षाका लागि जनताले निर्वाचित गराएको व्यक्तिबाटै संसद विघटन हुनु संघीयता र लोकतन्त्रका लागि खतरा भएको भन्दै त्यसका विरुद्ध जनताहरुले विरोध गर्नुपर्ने बताउनु भयो ।  प्रमुख अतिथि गौतमले संसद विघटन जनतामाथिको कुठराघात भएको बताउँदै जननिर्वाचित प्रधानमन्त्रीले संसद विघटन गरेर प्रधानमन्त्री ओली राजा महेन्द्र शैलीमा हिड्न खोजेको आरोप लगाउनु भयो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीको सभापतित्वमा भएको विरोध सभामा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेले जनताको अभिमतमाथि अन्याय गरेको भन्दै खबरदारी गर्नुभयो । उहाले नेपाली कांग्रेसले इतिहासको कालखण्डमा कम्युनिष्ट पार्टीलाई पटक पटक सहयोग गर्दै आएको भए पनि त्यसको जस लिने काममा कम्युनिष्टहरु पदच्यूत भएको तर्क गर्नुभयो ।

यस्तै उहाले संसद विघटन गरेर जनतालाई निराश पार्ने, संविधान विपरितको गैरजिम्मेवारपूर्ण काम गरेको भन्दै केपी शर्मा ओलीको खुलेरै विरोध गर्नुभयो ।

यस्तै विरोध सभामा नेपाली कांग्रेस प्रदेश २ ख का उम्मेदवार भरतबहादुर न्यौपानेले मुलुकमा स्थिर सरकार आयो भने जनताले सुखको सास फर्ने पाउने दिन आउला भनेर नेकपालाई जुन मत दिए त्यो अभिमतमाथि कुठाराघात भएको जिकिर गर्नुभयो । अहिले महंगी अत्याचार, भ्रष्टाचारले सिमा नाघेको उल्लेख गर्नुभयो । गरीव किसानले समयमा मल बिउ पाउन नसकेको, सहज सुलभ औषधीको व्यवस्था हुन नसकेको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको मौलिक हकको रक्षाका लागि कांग्रेस जनताको जीवन जाृेगाउन सडकमा आएको तर्क गर्नुभयो ।

यस्तै कार्यक्रममा अर्का वक्ता संविधानसभा सदस्य राजु खनालले ५ वर्षको म्यान्डेट पाएको नेकपाको सरकारले पद र सत्ताको नीजि स्वार्थका लागि यति तल्लो स्तरको काम गरेको भन्दै समयले दण्डित गर्ने बताउनु भयो। किसानको पक्षमा, गरिवको पक्षमा, महिलाको पक्षमा, आवाजहीनहरुको आवाज बन्न सक्ने पक्षमा उद्योगी व्यवसायीको पक्षमा काम गर्ला भनेर स्थिर सरकार चलाउन पठाएको बेलामा सरकारले यति तल्लो स्तरको काम गरेर सर्वसत्तावादको चेहरा देखाएको तर्क गर्नुभयो । आफ्नो कुरा ठीक अरु सबैको बेठीक देख्ने अधिनायकवादी चरित्रले देशको गरिमामाथि प्रहार भएको भन्दै यसका विरुद्ध खबरदारी गर्नु आम नेपाली नागरिकलाई अपिल गर्नुभयो ।


Views: 79