17th April | 2021 | Saturday | 2:58:11 AM

प्रदेशमा सहकार्य गर्नै परे विघटनको विरोधमा लागेका दलसँग सहकार्यको पहिलो प्रयास : नेता खाँण

सुदीप भण्डारी   POSTED ON : पुष १४, २०७७ (२:५९ PM)

प्रदेशमा सहकार्य गर्नै परे विघटनको विरोधमा लागेका दलसँग सहकार्यको पहिलो प्रयास : नेता खाँण

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रदेशमा सत्ता फेर बदल हुन लागेमा प्रतिनिधि सभा विघटनको विरोधमा लागेकासँग कांग्रेसले सहकार्यको पहिलो प्रयास गर्नुपर्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले सहकार्य जो सँग पनि गर्न सकिने भन्दै पहिलो प्रयास असंबैधानिक कदमको विरोधमा रहेकासँग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘अहिलेको राष्ट्रिय मुद्दामा जसले सरकारको कदमलाई असंबैधानिक भनेको छ । कम्तीमा त्यो पार्टीसँग हाम्रो कुरा मिलेको छ।’ उहाँले भन्नुभयो ‘कुरा मिलेकैसँग प्रारम्भिक चरणमा कुरा गर्ने हो। जोसँग कुरा मिलेको छैन त्यो सँग कुरा गर्न पनि समय लाग्छ।’ 

नेपाली कांग्रेस जस्तै नेकपाको प्रचण्ड–माधव समुहले प्रतिनिधि सभा विघटन विरुद्ध सडकमा उत्रीएको छ । खाँणले भने अनुसार भएमा कांग्रेसले सहकार्यको पहिलो प्रयास प्रचण्ड माधव समुहसँग गर्ने छ। 

तर नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर नबस्ने र परिस्थिती अनुसार जो सँग पनि सहकार्य हुन खाँणको भनाइ छ। विगतमा पनि अन्य दललाई संविधान र राजनीतिको मुलधारमा ल्याउन कांग्रेसले भूमिका खेलेको भन्दै खाँडले अहिले पनि संविधानको ट्रयाक बाहिर गएकालाई मुलधारमा ल्याउने दायित्व कांग्रेसको भएको बताउनुभयो । ‘नेपाली कांग्रेसले कुनै पनि परिस्थीतिमा ढोका बन्द गरेर बस्नु हुँदैन।’ उहाँले भन्नुभयो ‘हिजो पनि हामीले सहकार्य गरेका छौं, आज पनि सहकार्य गर्छौ। भोली पनि सहकार्य गर्न सक्छौं।’ 

पछिल्लो पटक बाग्मती प्रदेश र प्रदेश १ मा त्यहाँका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आइसकेको छ । अन्य प्रदेशमा पनि सरकार टिकाउने वा फेर्ने आ आफ्नो पक्षबाट प्रयास हुने छ । त्यस्तो अवस्थामा कांग्रेसको भुमिका के होला भन्ने जिज्ञाशा भइरहेको बेलामा नेता खाँडको यो भनाइ आएको हो । 

नेता खाँणले चुनावको मिती तोकेर प्रतिनिधि सभा विघटन गरेको भएपनि प्रधानमन्त्रीको मानसिकता चुनाब गर्ने नभएको उल्लेख गर्नुभयो । उहाँले कोरोनाको बहानामा संकटकाल लगाएर चुनाब सार्न सक्ने खतरा रहेको बताउनुभयो । 

प्रधानमन्त्रीको कदललाई पार्टीले एक मतले असंबैधानिक भनेको जानकारी दिँदै नेता खाँणले अदालतले पनि प्रतिनिधि सभा विघटनलाई उल्ट्याउने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले संबैधानिक परिषद जस्तो गम्भीर विषयमा निर्णय गर्दा ५ दिन लुकाएर सार्वजनिक गरी दिउसै रात पारेको उल्लेख गर्नुभयो । उहाँले असंबैधानिक कदमको विरुद्ध आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।   


Views: 83