17th April | 2021 | Saturday | 2:50:28 AM

‘हाइड्रो हब’ बन्दै म्याग्दी : ३ सय ४० मेगावाट क्षमताका दर्जन बढी आयोजना निर्माणाधिन

ध्रुर्बसागर शर्मा   POSTED ON : पुष १७, २०७७ (३:५५ PM)

‘हाइड्रो हब’ बन्दै म्याग्दी : ३ सय ४० मेगावाट क्षमताका दर्जन बढी आयोजना निर्माणाधिन

म्याग्दी । पर्यटकीय र लाहुरेको जिल्ला भनेर चिनिने हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय जलविद्युत आयोजना निर्माणको तीर्व गतिले गर्दा ‘हाइड्रो हब’ बन्दै गएको छ ।

यहाँका म्याग्दी,रघुगंगा,नारच्याङ लगाएतका आधा दर्जन बढी खोलाहरु उर्जा खोलामा परिणत हुन थालेका छन् । यिनै खोलाहरुबाट अहिले ३ सय ४० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् ।

म्याग्दीमा राहुघाटबाट १४६.८,अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट १५७ र धवलागिरि गाउँपालिकाको नाउरबाट ३७ गरी ३४०.८ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् ।

प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच बिस्तार तथा उर्जाको अन्तराष्ट्रिय बजार खोजी हुन थालेपछि बर्षौ अघि सर्बेक्षण गरिएका जलबिद्युत आयोजनाले गति लिन थालेका हुन् ।

बिद्युत बिकास बिभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार वटा जलबिद्युत आयोजनाले निर्माणको अनुमति लिएका छन् । राहुघाट र सहायक नदीहरुमा धमाधम जलबिद्युत आयोजना बन्न थालेपछि रघुगंगा गाउँपालिका जलबिद्युतको ‘हब’ बन्न थालेको हो ।

त्यसैगरी विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्याङ्कको चरण पार गरेर निर्माणको अवस्थामा प्रवेश गरेका छन् ।

 त्यसैगरी म्याग्दीका उद्योगी, ब्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेको छ । 

त्यसैगरी रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र ३८ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना पनि निर्माणधिन अवस्थामा छन् ।

५.५ मेगावाट क्षमताको १ वटा आयोजनाले निर्माणको अनुमति मागेको छ । २४.६५ मेगावाट क्षमताका ३ वटा आयोजना सर्बेक्षणका क्रममा छन् । नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट, ३७ मेगावाट क्षमताको राहुघाट मंगले, जलबिद्युत आयोजनाको बाँध, सुरुङ र बिद्युतगृह एकैसाथ निर्माण सुरु गरेको तुदी पावरले ४८.५ मेगावाट क्षमताको अर्को अपर राहुघाट निमार्ण प्रक्रिया सुरु गरेका छन् ।

राहुघाटको सहायक बगरखोलामा ५.५ मेगावाट क्षमताको जलबिद्युत आयोजना जेनेरेशन लाइसेन्स प्राप्तिको प्रक्रियामा छ । ४.७५ मेगावाट क्षमताको स्यानोखोला, ४.९० मेगावाट क्षमताको अपर ठुलोखोला र १५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना सर्बेक्षणको चमणमा छन् ।

संयुक्त उर्जा प्रालीले कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माणको तयारी गरेको छ । संयुक्त उर्जा प्रा.लिका प्रतिनिधि अनुरोध अधिकारीका अनुसार पहिलो चरणमा आवासको काम सुरु गरिएको र यसको निमार्ण सम्पन्न गर्ने समय अवधिमा उत्पानदन गर्ने बताए । ‘हामीले यसको निमार्ण सम्पनन गर्नका लागि बाकि कामको समेत ठेक्का लगाइसकेका छौँ, अब छिट्टै अन्य काम पनी सुरु गछौँ’ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको तर्फबाट पहुँचमार्ग निर्माणमा सघाउनुका साथै सहजिकरण गरेर काम गर्ने वातावरण बनाएकाले पनि लगानीकर्ता आकिर्षत भएका हुन् । राहुघाट र सहायक नदीहरुमा बन्ने जलबिद्युत आयोजना निर्माणलाई गति दिन मौवाफाँट देखि दग्नाम, दर्मीजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलबिद्युत आयोजनाहरुसँग साझेदारी गरेका छन् ।

हामीले पालिकाको विकासमा जलविधुत आयोजनाहरु संग पनि साझेदारी गरेको रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले भने, ‘अब रहुघाट नदि उर्जा खोलामा परिणत हुदै छ, यी निमार्ण सुरु गरेका र अनुमति पाएका सबै आयोजनाहरुले निमार्ण सम्पन्न गरे भने पालिकाको अर्थतन्त्रमा टूलो सहयोग पुग्छ’ यसका लागि हामीले पनि ताकेता गरेका छौँ ।

यताजलबिद्युत आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसबासका बस्तिमा अन्य बिकास गतिबिधिले तिब्रता पाउनुका साथै तत्कालीन हिसाबले रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने भएपनि रघुगंगामा बन्ने आयोजनाहरुले स्थानीयलाई रोजगारीको अवसर नदिएको स्थानीयले बताएका छन् ।

‘यहाँ यती धेरै आयोजनाहरु निमार्णको भैरहेका छन, निमार्ण हुने प्रक्रीयामा छन्, तर यहाँका स्थानीय युवाहरुले सोचे जस्तो रोजगारीको अवसर पाएका छैनन्’ स्थानीय युवा मेजन थापाले भने, गाउँको स्वास्थ्य, शिक्षा, सडक लगायतमा केही आयोजनाहरुले सहयोग तर गरेका छन्, तर हामीले जति सोचेका थियाँै त्यती भएको छैन । उनलेभने, ‘अहिलेको अवस्थामा गाउँका युवाहरु बेरोजगार भएका छन्, तर यही निमार्ण हुने विकास निमार्ण रोजगरी पाहिदैन’ ।

त्यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । 

 हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ ।

तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । धवलागिरि गाउँपालिका–४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए ।


Views: 81