13th April | 2021 | Tuesday | 8:25:57 PM

दाङको विकास बजेट खर्चको एकीन विवरण छैन

दाङको विकास बजेट खर्चको एकीन विवरण छैन

दाङ । गढवा गाउँपालिकाका कर्मचारी सुरेश पौडेल आफ्नो कार्यालयको बजेट विवरण लिन बिहीबार कोष तथा लेखा नियन्त्रक कार्यालय दाङमा आउनुभयो । पौडेलले गाउँपालिकामा कति रकम आएको छ र हालसम्म कति खर्च भयो ? भन्ने विषयमा बजेट विवरण लिन आउनुभएको थियो । सफ्टवयरको समस्याका कारण विवरण पाउन सकेनन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक अर्जुनकुमार डिसीले सिस्टमले काम नगरेको भन्दै उक्त विवरण दिन सक्नु भएन । सिस्टमले काम गरेपछि बजेट विवरण लिन्छु भन्दै उहाँ फर्कनुभयो । यस्तोक्रम हिजोआज कार्यालयमा चलिरहेको छ । आफूले चाहेको समयमा पाउनुपर्ने बजेटको विवरण कोष तथा नियन्त्रक कार्यालयले उपलब्ध गराउन सकिरहेको छैन् ।

दोस्रो चौमासिक चलिरहेको समयमा दाङमा कति बजेट खर्च भयो ? भन्ने विषयमा एकीन तथ्याङ्क नआउँदा कार्यालयको काममा समस्या भएको छ । जिल्लाको चालु आर्थिक वर्षको विकास बजेट कति खर्च भयो ? भन्ने बारेमा एकीन तथ्याङ्क नआउँदा बजेट खर्च विवरण हेर्न समस्या भएको हो । जिल्लाको समग्र विकासका बजेटको बारेमा जानकारी दिने कोष तथा लेखा नियन्त्रक कार्यालयको सफ्टवयरमा प्राविधिक समस्या देखिएको छ ।

जसको कारण गत महिनाको साउन महिनादेखि कुनै पनि कार्यालयहरुले आफ्नो खर्च विवरण पाउन सकेका छैनन् । दाङका अहिलेसम्म कति बजेट खर्च भएको छ ? कति बजेट खर्च हुन बाँकी छ ? भन्ने विषयमा कोष तथा लेखा नियन्त्रका कार्यालयको लेखासम्बन्धी विवरण सफ्टवयरले देखाएको छैन् । त्यति मात्र होइन् जिल्लाका कुन कार्यालयले अहिलेसम्म कति रकम खर्च गरे ? भन्ने विषयमा पनि सफ्ट्वयरमा समस्या देखिएको छ । जिल्लाका कार्यालयहरुले चालु तथा पुँजीगततर्फका बजेट भने निकासा भइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयमा हुने प्रतिवेदनका कुनै पनि ट्याव नबनेकाले समस्या भएको छ ।

‘प्रतिवेदन भन्नाले पुँजीगत खर्च चालु खर्च कति भयो ? भनेर एकमुष्ट निकालिन्छ’ कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक डिसीले प्रदेश टुडेलाई भने ‘त्यो प्रतिवेदन दिने सफ्ट्वयरमा समस्या आएको छ ।’ त्यो सफ्टवयरले जिल्लाकै मासिक निकासा, चौमासिक निकासा, अर्धवार्षिक निकासा, वार्षिक निकासा कति भयो ? भनेर देखाउने उहाँले वताउनुभयो । ‘निकासा भएको रकम विवरण त छर तर हामीले सफ्टवयरले दिएको जसरी एकमुष्ठ दिन सकिने अवस्थामा छैनौ’ उहाँले भन्नुभयो । त्यो सम्बन्धी सफ्टवयर निर्माणकै क्रममा रहेकोले समस्यामा भएको उहाँले वताउनुभयो । दाङमा मात्र नभएर नेपालभर नै समस्या भएको उहाँले वताउनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ लेखा प्रणालीको (सि–ग्यास) सिस्टम सञ्चालनमा ल्याएकाले प्राविधिक समस्या देखिएको छ ।

कम्प्यूटराइज्ड गोर्भमेन्ट अकाउन्टमार्फत काम हुने भएकाले सफ्टवयर निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । अहिलेसम्म त्यो सफ्टवयेरको निर्माण भई नसकेको कार्यालयले जनाएको छ । सबै कार्यालयलाई सिस्टममा रुपान्तरण गर्न खोज्दा केही प्राविधिक कठिनाई भएको उहाँले वताउनुभयो । ‘लेखा प्रणालीलाई पारदर्शी राख्ने खालको सिस्टम चाहिँ हो’ उहाँले भन्नुभयोे ‘बजेट निकासाको काम भईरहेको छ तर प्रतिवेदन निकाल्ने पार्टमा केही समस्या देखिएको छ ।’ अहिलेसम्म कति बजेट निकासा भयो ? भन्नेमा अलमल भएको छ । ‘रकम निकासा भईरहेको छ तर कति खर्च भयो ? भन्ने बारेमा जानकारी छैन’ उहाँले भन्नुभयोे ‘आफै नै निकाल्दा अलि सम्भव भएन्, सिस्टमले एकीन प्रतिवेदन निकाल्छ ।’ लेखासम्बन्धी काम सि–ग्यासले मात्र गरेको छ’ कोष नियन्त्रक डिसीले भन्नुभयोे ‘यो बाहेक अन्यले काम गर्न मिल्दै मिल्दैन् ।’ संघीय कार्यालय, प्रदेश कार्यालय तथा जिल्लाका कार्यालयहरुको काम सि–ग्यासमार्फत मात्र गरिने उहाँले वताउनुभयो ।


Views: 111