13th April | 2021 | Tuesday | 7:29:59 PM

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया

प्रकाश न्यौपाने   POSTED ON : पुष २१, २०७७ (७:३२ PM)

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया

नवलपरासी । पश्चिम नवलपरासीमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानीय तहका पदाधिकारीहरु संगको एक दिने अन्तक्र्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

स्थानीय तहको नेतृत्वमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरद्धारा सञ्चालित सामी परियोजनाको आयोजनामा प्रतापपुर गाउँपालिकाको शिक्षा शाखा सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चौधरीले राम्रा काम भएपनि सूचना तथा सीपका कारण कामदारहरु समस्यामा पर्ने गरेको बताउँदै गाउँपालिकाले आगामी योजनामा सीप तालिम र समस्या पहिचान गरि समाधान तर्फ लाग्ने बताउनुभयो । 

उहाँले पालिकामा तयार हुन लागेको भिलेज प्रोफाइल मै बैदेशिक रोजगारीको विषयलाई समेटी तथ्यांक संकलन गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष राम हरी उपाध्यायले समाजमा अहिले पनि टाठा बाठा र नेताका नजिक मान्छेले सबै सेवा सुविधा लिने गरेको र गाउँ बस्तीका कुना काप्चामा रहेका ब्यक्तिहरुलाई सूचना र सेवा पुग्न नसकेको हुँदा सो स्थानसम्म पुर्याउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । 

ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीले जिल्लामा परियोजनाले गर्ने क्रियाकलापका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले कार्यक्रमको सहजिकरण गर्दै परियोजना नेपाल सरकारकै रहेको हुँदा सबै जनप्रतिनिधिहरुले कार्यक्रमलाई अपनत्व लिनुपर्ने र आगामी बर्ष देखि जिल्लाका सरोकारवालाहरुको सहकार्यमा पाठ्यपुस्तक मै बैदेशिक रोजगार सम्बन्धी विषयबस्तु समेटी पाठ्यक्रम तयार गर्न आफु लागी परेको बताउनुभयो । 

 कार्यक्रम  कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, पालिकाका शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।


Views: 99