13th April | 2021 | Tuesday | 7:11:21 PM

शान्ती सुरक्षा कायम गर्न स्थानीय तहद्वारा नगरप्रहरीको व्यवस्था

रमेश विश्वकर्मा   POSTED ON : पुष २२, २०७७ (४:१५ PM)

शान्ती सुरक्षा कायम गर्न स्थानीय तहद्वारा नगरप्रहरीको व्यवस्था

गुल्मी । दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटा स्थानीयतह गुल्मीमा रहेका छन् । जसमा यहाँ रहेका चार वटा स्थानीय तहहरुले आफ्नै निजी प्रहरी नियुक्ति गरिसकेका छन् । केही स्थानीय तहले भने नगरप्रहरी नियुक्ति गर्ने योजना बनाएका छन् । रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, ईस्मा गाउँपालिका र मालिका गाउँपालिकाले नगर मातहतमा रहने गरि नगरप्रहरी नियुक्ति गरिसकेका छन् ।

जिल्लामै प्रथम पटक धुर्कोट गाउँपालिकाले नगरप्रहरी नियुक्ति गरेको थियो । गाउँपालिकामा २०७५ फागुन महिनामा एक हवल्दार र चार जना जवान सहित पाँच जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो । हवल्दारलाई मासिक रु. १५ हजार पारिश्रमिक दिईन्छ । भने जवानहरुलाई मासिक १२ हजार रुपैयाँका दरले गाउँपालिकाबाट पारिश्रमिक प्रदान गरिन्छ । नगरप्रहरीहरुलाई मासिक रासनभत्ता स्वरुप रु. ३ हजार प्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनु भयो । स्थानीयतहमा शान्ती सुरक्षा कायम गर्नका लागि नगरप्रहरीको महत्वपूर्ण भूमिका हुने पन्थीले उल्लेख गर्नुभयो । विपद्को बेलामा पनि नेपाल प्रहरीहरुसँग समन्वय गरी उद्धारमा समेत उनीहरुको ठुलो भूमिका रहने छ ।

त्यस्तै २०७६ माघ महिनामा रेसुङ्गा नगरपालिकाले नगरप्रहरी नियुक्ति गरेको थियो । एक हवल्दार र ६ जना जवान सहित सात जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सेवा सर्त र सुविधाको लागि नगर सभाबाट कार्यविधि पारित गरि नगरप्रहरी छनोट गरिएको बताउनु भयो । उहाँका अनुसार अहिले ६ जना नगरप्रहरी कार्यरत रहेका छन् । एक जना हवल्दारलाई मासिक रु. १५ हजार र जवानहरुलाई मासिक रु.१३ हजारका दरले नगरपालिकाबाट पारिश्रमिक प्रदान गरिँदै आएको छ । मासिक तीन हजारका दरले रासनभत्ता र बार्षिक रुपमा पोशाक उपलब्ध गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनु भयो ।

मालिका गाउँपालिकाले २०७७ कात्तिक महिनामा नगरप्रहरी नियुक्ति गरेको थियो । एक जना हवल्दार र ४ जना जवान सहित ६ जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयो । जसमा हवल्दारलाई मासिक रु. १४ हजार प्रदान गरिँदै आएको छ । जवानहरुलाई मासिक रु. १३ हजार पाँच सय पारिश्रमिक गाउँपालिकाबाट प्रदान गरिँदै आएको छ । मासिक रुपमा रासनभत्ता स्वरुप रु. ३ हजार पाँच सय प्रदान गरिन्छ । उनीहरुलाई स्थानीय बजार अनुगमन, गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन, आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको भण्डारीले बताउनु भयो ।

यस्तै इस्मा गाउँपालिकाले २०७७ मंसिर महिनामा नगरप्रहरी नियुक्ति गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना हवल्दार र चार जना जवान सहित पाँच जना नगरप्रहरी नियुक्ति गरिएको छ । जसमा हवल्दारलाई मासिक रु.१५ हजार र जवानहरुलाई मासिक रु. १३ हजार पाँच सय पारिश्रमिक प्रदान गरिँदै आएको छ । जसमा मासिक रुपमा रु.३ हजार रासन भत्ता उपलब्ध गराउँदै आएको महतले बताउनु भयो ।


Views: 81