13th April | 2021 | Tuesday | 8:23:59 PM

गुल्मीमा विद्यालय पुनर्निर्माण : पाँच वर्षमा सय बढी निर्माण सम्पन्न ६२ वटा निर्माणाधीन

रमेश विश्वकर्मा   POSTED ON : पुष २३, २०७७ (६:५९ PM)

गुल्मीमा विद्यालय पुनर्निर्माण : पाँच वर्षमा सय बढी निर्माण सम्पन्न ६२ वटा निर्माणाधीन

गुल्मी । गुल्मीमा भूकम्पबाट तीन सय भन्दा बढि विद्यालय भवनहरु भत्केका र क्षतिग्रस्त भएका थिए । जसमा एक सय भन्दा बढि विद्यालयहरुको पुनर्निर्माणको कार्य सकिएको छ । २०७२ साल बैशाखमा गएको भूकम्पको कारणले जिल्लामा ३ सय १२ वटा विद्यालय भवनहरुका १ हजार २ सय ५२ वटा कक्षाकोठा भत्केका र क्षतिग्रस्त भएका थिए । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको छ । पुनर्निमाण भएका सबै विद्यालयहरुको निर्माण कार्य विद्यालय व्यवस्थापन समिति (विव्यस) मार्फत गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गुल्मीका इकाई प्रमुख पिताम्बर पन्थीले बताउनु भयो ।

आर्थिक वर्ष २०७३/०७४ मा ४ कोठे विद्यालय भवन ३ वटा, ३ कोठे विद्यालय भवन ६ वटा र २ कोठे विद्यालय भवन ६ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले जानकारी दिनु भयो । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ४ कोठे विद्यालय भवन ३ वटा, ३ कोठे विद्यालय भवन ६ वटा र २ कोठे विद्यालय भवन ६ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४ कोठे विद्यालय भवन ३९ वटा, ३ कोठे विद्यालय भवन १० वटा र २ कोठे विद्यालय भवन ३८ वटा गरि ८७ वटा विद्यालय भवनमा १६२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको बताइएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४ कोठे ७ वटा विद्यालय भवनको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले बताउनु भयो । उहाँका अनुसार ८ वटा विद्यालयमा खानेपानी वितरण गरिएको छ । त्यस्तै ४३ वटा विद्यालयमा सुविधासम्पन्न शौचालयको पनि निर्माण कार्य सकिएको हो । 

जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा छन् इकाई प्रमुख पन्थीले भन्नुभयो,“जसमा ४ कोठे विद्यालय भवन ४० वटा, ३ कोठे विद्यालय भवन ५ वटा र २ कोठे विद्यालय भवन १७ वटा रहेका छन् ।” ३४ वटा विद्यालयमा खानेपानी र सुविधासम्पन्न शौचालयको पनि निर्माणको कार्य भइरहेको छ । त्यस्तै १ सय २६ वटा विद्यालय भवनका ७ सय ६९ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य गर्न बाँकी रहेको इकाई प्रमुख पन्थीले बताउनु भयो । केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले उक्त विद्यालयहरुको पुनर्निर्माणको कार्य बाँकी रहेको उहाँको भनाइ रहेको छ । त्यस्तै पुनर्निर्माणको कार्यावधि २०७८ पुस १० गतेसम्म रहेको हुँदा बाँकी रहेका विद्यालयहरु नेपाल सरकारको निर्णय अनुसार अन्य निकायमा जिम्मेवारी हस्तान्तरण हुने उहाँले बताउनु भयो ।

क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणको लागि बजेट सिलिङ पनि प्रति युनिट फरक–फरक हुने इकाई प्रमुख पन्थीले भन्नुभयो,“४ कोठे विद्यालय भवनका लागि ७० लाख ४० हजार, ३ कोठे विद्यालय भवनका लागि ३५ लाख ८० हजार, २ कोठे विद्यालय भवनका लागि २३ लाख ९० हजार, खानेपानी सुविधाको लागि ७ लाख र शौचालय निर्माणका लागि १५ लाख बजेट लाग्ने छ ।” विद्यालयको दुरी र आवश्यकता अनुसार बजेट फरक–फरक हुने उहाँले बताउनु भयो । । 

विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको इकाई प्रमुख पन्थीले भन्नुभयो, “टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ ।” सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निमाण गर्नका लागि गुणस्तरिय निर्माण सामाग्रीको प्रयोग गरि निर्माण कार्य गर्न कार्यालयले विशेष जोड दिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर लक्ष्मण राउतले बताउनु भयो । विभिन्न समयमा कार्यालयले अनुगमन गर्ने क्रममा ढुङ्गा, गिट्टी, सिमेन्ट, फलामे छड÷डण्डी, बालुवा, ईटा, प्लाईउड, काठ, भाईवरेटर÷मिक्सचर, कंक्रिट (ढलान) लगायतका विभिन्न सामाग्रीहरुमा विशेष ध्यान दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । 


Views: 422